अपडेट 
२०८० मंसिर १४, बिहीबार ०७:५६

नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्व गृहमन्त्रीसमेत भइसकेका नेता विमलेन्द्र निधिले केन्द्रको र ाजनीति थालेपछि पहिलो पटक केन्द्रीय महासमिति सदस्यको उम्मेदवारीबाट पछि हटेका छन् ।

महासमितिका लागि उनी सधैँ धनुषा निर्वाचन क्षेत्र नम्बर तीन बाट महासमिति सदस्य बन्दै आएका थिए । धनुषा निर्वाचन क्षेत्र नम्बर तीनमा उनको एकलौटी चल्दै आएको थियो । तर, यस पटक उनका राजनीतिक सहकर्मी मानिएका नेता रामसरोज यादवसंग सम्बन्ध चिसिएपछि नेता निधिलाई भने ठूलै समस्या भएको छ ।

राजनीतिमा सक्रिय भएसंगै दुबै एकले अर्कालाई सहयोग गर्दै आएका थिए । तर विगत केही वर्षदेखि दुबैको सम्बन्ध बिग्रेपछि अहिले नेता निधिलाई उम्मेदवारी समेत फिर्ता लिनु परेको छ । जिल्ला निर्वाचन अधिकृतले बुधबार उम्मेदवारी दर्ता र फिर्ताको समय निर्धारण गरेको थियो । नेता निधिले उम्मेदवारी दर्ता गर्दा पाँच जना पुरुषको लागि ६ जनाले उम्मेदवारी दर्ता गराए ।

उम्मेदवारी दर्ता गराउनेमा नेता निधिसहित राम सरोज यादव, स्मृतिनारायण चौधरी, गणेश तिवारी, प्रफुल्ल घिमिरे र संजय गुप्ता गरी ६ जना थिए । नेता निधि र नेता यादवबीच संजय गुप्ताको लागि वारपार हुने भएपछि नेता निधिले सुनियोजित रुपमा गुप्तालाई मधेशी कोटाबाट नभइ प्रत्यक्षबाट नै उम्मेदवारी दर्ता गराए । त्यस्तै महिला सदस्यमा नेता निधिकी श्रीमती अनामिका निधि र पूर्व सभासद मिनाक्षी झा तथा मधेशी महिलामा निलम कर्ण निर्विरोध निर्वाचित भइसकेका छन् । गुप्ताले उम्मेदवारी दिएपछि नेता निधि पछि हटे र पाँच जनाको नाम सर्वसम्मत भएको थियो ।

नेपाली कांग्रेसका जानकारहरुका अनुसार नेता निधिले कुनै पनि पदमा पहिलो पटक उम्मेदवारी फिर्ता लिएका छन् । नेता निधिले गुप्ताका लागि वडा वडामा गइ उनलाई जिताउनका लागि प्रयास गरे पनि उनलाई ग्रासरुटका नेताले स्वीकार गर्न नसक्ने भएपछि उनले आफ्नो रणनीति तहत गुप्तालाई महासमिति सदस्य बनाउन भने सफल भए । यता, दुई वटा सीट रहेको मधेशी कोटाका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेता निधिको गुटबाट शिवचन्द्र चौधरी र जनकपुरधाम उप महानगर पालिकाका उप मेयर किशोरी साह तथा नेता यादवको गुटबाट जीवनाथ चौधरी र रामबाबु यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

राजनीतिक विश्लेषकहरुका अनुसार नेता यादवमाथि चुनौतीको चांग थपिएको छ । नेता निधिले गुप्तालाई महासमिति सदस्य बनाउनका लागि आफ्नो उम्मेदवारी फिर्ता लिए । त्यस्तै नेता यादवले मधेशी कोटामा आएका चौधरी र यादवलाई जिताउन सफल हुनु भनेको ठूलै नेताको रुपमा स्थापित हुनु सरह हुनेछ । राजनीतिक रुपमा ओरालो लागेको नेता निधिबाट अधिकांश नेता कार्यकर्ता असन्तुष्ट छन् । मुखियापट्टी मुसहरनीया, नगराइन, घोडघास, धनौजी र जनकपुरधाम उप महानगरपालिका समेतमा नेता निधि भन्दा नेता यादव बलियो अवस्थामा छन् । नेता निधिसंग अधिकांश नेता कार्यकर्ताहरु असन्तुष्ट भइ अन्य पार्टी रोजिसकेका छन् ।

मुखियापट्टी मुसहरनीयाका मुन्ना चौधरी, गाउँपालिकाका अध्यक्ष जयकुमार यादव लगायत सयौं नेता कार्यकर्ता अन्य पार्टीमा गइसकेका छन् । नेता निधिको जन्मथलो नगराइनमै अधिकांश वडा एमालेले हात पारिसकेको छ । उनको घर रहेको वडामासमेत एमालेका वडाध्यक्ष छन् । मुखियापट्टी, नगराइन, धनौजीलगायतका अधिकांश डेलिगेट नेता यादव समर्थित रहेकाले पनि नेता निधि भन्दा बलियो नेता यादव देखिएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर तीनका क्षेत्रीय सभापति नेता निधिका भाइ श्याम निधि रहेका छन् ।

स्थानीय तहको निर्वाचनमा वडासदस्य देखि प्रमुखसम्मको टिकट वितरणमा नेता कार्यकर्ताको पार्टीमा गरेको लगानीलाई हेरेर नभइ पैसाले टिकट बेचेको आरोप लागेपछि समेत त्यो क्षेत्रमा नेता निधिको लोकप्रियता घटेको छ । नेता निधिका भाइ श्यामले पैसा लिएर टिकट बेचेको भन्दै गत स्थानीय तहको निर्वाचनमा उनीमाथि हातपात समेत गरिएको थियो । धनुषा निर्वाचन क्षेत्र नम्बर तीनका विभिन्न ३८ वटा वडामा करिव साढे ६ सय डेलिगेट सदस्यहरु रहेका छन् । निर्वाचन समितिले शुक्रबार निर्वाचनको कार्यतालिका सार्वजनिक गरि सकेको छ ।

Comment


Related News

Latest News

Trending News