
नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर तीनमा केन्द्रीय महासमिति सदस्यका लागि शुक्रबार निर्वाचन हुने भएको छ ।
यहाँ नेपाली कांग्रेसका पूर्व उप–सभापति बिमलेन्द्र निधि र नेता राम सरोज यादवबीच बर्चस्वको लडाई देखिएको छ । अन्य सीटहरुमा सर्वसम्मत भए पनि मधेशी कोटामा भने चुनाव हुने भएको छ ।
दुबै पक्ष आफूले जित्ने दाबी समेत गरेका छन् । निधि गुटबाट नेता शिवचन्द्र चौधरी, जनकपुरधाम उप–महानगर पालिकाका उप–मेयर किशोरी साह चुनावी मैदानमा छन् भने यादव गुटबाट जीवनाथ चौधरी र रामबाबु यादव रहेका छन् ।
हुन त मधेशी कोटामा पनि सर्वसम्मत निर्णय गर्ने तयारी गरिएको थियो तर, जीवनाथ चौधरीलाई लिएर यहाँ चुनाव भएको छ । नेता निधि चौधरीलाई महासमिति सदस्य बन्नबाट रोक्नका लागि प्रयासरत रहेका छन् ।
पहिले मधेशी कोटामा संजय गुप्तालाई ल्याउने तयारी गरेका नेता निधि पछि आफ्नो नाम फिर्ता लिएर गुप्तालाई खुल्लाबाट महासमिति सदस्य बनाए । गुप्ता निधिका प्रिय मानिएका छन् । नेता यादव र चौधरी पनि निधिका प्रिय पात्रहरु नै छन् तर यहाँ वर्चस्वका बिषय बनेका कारण यिनीहरु बीच दूरी बढ्दै गएको छ । चौधरीलाई रोक्नका लागि नेता निधिले गुप्तालाई खुल्लाबाट महासमिति सदस्य बनाएको नेपाली कांग्रेसका नेताहरुको भनाइ छ । तर, नेता यादव भने कुनै पनि हालतमा चौधरीलाई महासमिति सदस्य बनाउने तयारी थालेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न ३८ वटा वडाका करिब साढे ६ सय डेलिगेटको घर घरमा नेता यादव पुगि सकेका छन् । सधैभरि नेता निधिलाई नेता मान्ने तर उनले कसैलाई पनि नमान्ने, ग्रासरुटका नेताहरु भन्दा बढी ठेकेदार पैसावाललाई नेता मान्न बाध्य तुल्याउने परिपाटीका विरुद्धमा आपूmले प्रयास थालेको भन्दै नेता यादवले चौधरीको पक्षमा वकालत गर्दै हिडेका छन् ।
बिहीबार नगराइनमा हुने निर्वाचन विहान ९ बजे देखि ३ बजे सम्म चल्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपमेयर साहलाई धक्का
नेपाली कांग्रेस धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा महासमिति सदस्यका लागि हुने मतदानको १५ घण्टा अघि उम्मेदवार किशोरी साहलाई धक्का लागेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर समेत रहेका साहका स्वकीय सचिव समेत रहेका कांगे्रस पार्टीका नेता श्याम चन्द्र यादवले राजीनामा दिएका छन् । यादवले बिहीवार स्वकीय सचिवबाट राजीनामा दिएर साहका प्रतिद्वन्दी रहेका जीवनाथ चौधरीको चुनाव प्रचारमा जुटेका छन् । पदबाट राजीनामा दिनुको प्रमुख कारण उपमेयर साहले काम गर्ने वातावरण नबनाएको आरोप लगाइएको छ ।
उपमेयर साह धनुषा–३ को महासमिति सदस्यमा मधेशी कोटाबाट उम्मेदवार बनेका छन् । मधेशी कोटामा २ जना महासमिति चुनिने छन् । खुल्ला, महिला र दलित तर्फबाट महासमिति सदस्यको चयन निर्बिरोध भइसकेको छ । मधेशी कोटामा चौधरीलाई रोक्न चुनाव गराइएको नेताहरुले बताएका छन् । धनुषा कांग्रेसमा निधि समूह नै विभाजित भएको छ ।
नेता विमलेन्द्र निधिका अन्ध समर्थक रहेका प्रदेश सभासदस्य रामसरोज यादवले चौधर ीलाई उम्मेदवार बनाएपछि सम्बन्ध बिग्रिएको छ । यादवले चौधरीलाई समर्थनगर्दै प्रचारप्रसारमा सकृय भएका छन् ।तर निधिले चौधरीलाई रोक्न हरसंभव प्रयास गरिरहेका छन् । मधेशी कोटामा यादवको तर्फबाट जीवनाथ चौधरी र रामबाबु यादव उम्मेदवार छन् ।
निधिले शिवचन्द्र चौधरी र किसोरी साहलाई उठाएका छन् । उपमेयर साहका स्वकीय सचिव यादवले राजीनामा नै दिएर उनको विरोधमा लागेकाले चुनावमा केही प्रभाव पर्नसक्ने बताइन्छ ।