अपडेट 
२०८० मंसिर १७, आईतवार ०८:२९

नेपाल तथा भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले भारतबाट हुने ड्रग्स, मदिरा, तस्करी र चेलीबेटी बेचबिखन रोक्ने प्रतिबद्धता जनाएका छन् ।

धनुषा जिल्लाको आतिथ्यमा शनिबार जनकपुरधाममा सम्पन्न बैठकको मुख्य एजेण्डा नै तस्करी रोक्ने र क्रसबोर्डर सुरक्षालाई व्यवस्थित गर्नेमा अधिकारीहरु सहमत भएका छन् ।

बैठकमा भारतको मधुबनी जिल्ला र सोसँग सीमा जोडिएका मधेश प्रदेशका चार जिल्लाका सुरक्षा तथा प्रशासनिक अधिकारीहरुको सहभागिता रहेको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेका अनुसार बैठकमा द्विपक्षीय हकहितका लागि दुई देशका सुरक्षा चासोबारे सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको छ ।

‘आगामी पुस १ गते जनकपुरधाममा हुने विवाह पञ्चमी मेलामा आउने तीर्थालुको सहजीकरण, सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप र सुरक्षा चुनौती, मदिरा, हातहतियार ओसारपसार नियन्त्रण, दशगजा क्षेत्रमा अवैधरूपमा बनाइएका संरचना हटाउनेलगायत विषयमा एकअर्कालाई सहयोग गरेर अगाडि बढ्ने निर्णय भएको छ’ प्रजिअ पाण्डेले भने, सीमामा आपराधिक गतिविधिहरु नियन्त्रण गर्न दुबै पक्षले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालका सबै नाका सवारी आवागमनका लागि खुल्ला नरहेको अवस्थामा दुई देशका जनताबीच रहेको रोटीबेटीको सम्बन्ध, विवाह व्रतबन्धलगायत सामाजिक गतिविधिमा सहजीकरण गर्न दुबै पक्ष सहमत भएको जनाइएको छ । सीमावर्ती जिल्लाहरुबाट हाल एक जिल्ला एक नाकाको अवधारणा बनाएर भारतले चार पांग्रे सवारी साधनलाई आउजाउ गर्ने अनुमति दिएको छ ।

पाकिस्तानी नागरिक सीमा हैदर नेपाल भारतबीचको खुल्ला नाका हुँदै भारततर्फ गएदेखि सुरक्षाको दृष्टिकोणले उक्त अवधारणा कार्यान्वयण गरिएको छ । जसबाट नेपाली र भारतीय दुबै नागरिकलाई आउजाउ गर्न असुविधा छ ।

भारतीय सवारी साधनले भन्सार महसुल बुझाएर नेपालभरि जान पाउँछन् । तर नेपाली सवारी साधनले नेपालस्थित भारतीय राजदूतावास अथवा बाणिज्य दूतावासबाट अनुमति लिनुपर्छ । त्यस्तो अनुमति लिन झण्झटिलो प्रक्रिया भने छैन् ।

सुरक्षा अधिकारीहरुको बैठकमा निकटतम् बजारसम्म नेपाली र भारतीय सवारी साधनलाई आउजाउ गर्न दिने विषयमा पनि छलफल भएको जनाइएको छ । त्यसैगरि, नेपाली भूमितर्फको दशगजामा रहेका सीमास्तम्भको मर्मत तथा पुनःनिर्माण सुरु गरिसकेकाले भारतीय पक्षले चाँडै आफ्नो भागका सीमास्तम्भ मर्मत गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।

बैठकमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी तथा भारतको मधुबनी जिल्लाका डीएम (डिष्ट्रिक मजिस्ट्रेट ) अरविन्द कुमारलगायत दुबै देशका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

नेपाल–भारतका सुरक्षा अधिकारीहरुबीच हरेक चार– चार महिनामा संयुक्त बैठक हुने गरेको छ भने सीमासँग जोडिएका जिल्लाका सुरक्षा निकायका प्रतिनिधिबीच हरेक महिना बैठक बस्ने गरेको छ । सीमा सम्बद्ध सुरक्षा अधिकारीहरुको नियमित बैठक बस्ने गरे पनि अपेक्षाकृत रुपमा तस्करी रोकिएको छैन् ।

नेपालबाट मदिरा, केराउ, सुपारी लगायतका वस्तुहरु निर्वाध रुपमा भारततर्फ तस्करी भएर गइरहेको छ । भारतबाट हुने तस्करीमध्ये सर्वाधिक क्षति लागूऔषधबाट भइरहेको छ । हुन त नेपालबाट पनि गाँजा, चरेस, सुन भारतमा जाने गरेको छ । भारतबाट लत्ताकपडा, किराना सामानलगायत अधिकांश वस्तुहरु नेपालमा तस्करी भएर आउने गरेको छ ।

खुल्ला सीमाको कारण तस्करी नियन्त्रण गर्न कठिन रहेको सुरक्षा अधिकारीहरु स्वीकार गर्छन् । सीमा क्षेत्रमा बढ्दो तस्करीमा सुरक्षाकर्मीहरुकोसमेत संलग्नता रहेको आरोप लाग्दै आएको छ । दुबै देशका सुरक्षाकर्मीहरुले अवैध रकम लिएर अवैध काम गर्न सघाउने गरेको आरोप छ । सीमावर्ती भारतीय बजारमा निर्वाध रुपमा नेपाली मुद्रामा कारोबार हुने गरेको छ ।

सरकारले प्रतिबन्ध गरेको भारतीय पाँच सय, दुई सय दरका नोटहरु पनि चलन चल्तीमा रहेको छ । भारतीय सीमावर्ती बजारले नेपाली सीमावर्ती बजारलाई भारी क्षति गर्दै आएको छ । भारतीय सामान वैध रुपमा नेपाल भित्र्याउँदा लाग्ने चर्को महसुलको कारण अवैध मार्ग भएर मालसामान आउने गरेको बताइन्छ । अवैध रुपमा नेपाली बजारमा भित्र्याइए पनि भारतीय सीमावर्ती बजारसित प्रतिस्पर्धा गर्न कठिन रहेको व्यवसायीहरु बताउँछन् ।

Comment


Related News

Latest News

Trending News