अपडेट 
२०८० मंसिर १७, आईतवार ०८:३२

मुलुकमा राजावादीहरु सक्रिय रहेको बेला नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले अब कुनै पनि हालतमा राजसंस्था स्थापित नहुने दाबी गरेका छन् ।

जनकपुरधाममा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले पटक पटकको आन्दोलनले प्राप्त गणतन्त्र र संघीयतालाई कसैले समाप्त गर्न नसक्ने धारणा राखे । नेता निधिले दुईचार जना राजाका समर्थकले चाहँदैमा नेपालमा राजतन्त्र स्थापित हुन सक्दैन भन्दै नेपाली जनताको बलिदानी र त्यागसंग कसैले खेलवाड गर्न नसक्ने उल्लेख गरे । ‘गणतन्त्र तथा संघीय व्यवस्थाको पक्षमा रहेका दलहरुले अहिले एक जुट हुनु आवश्यक रहेको छ’ उनले भने, प्रदेश सरकार कमजोर भएकाले संघीयता विरोधी स्वर बढ्दै गएकोले संघीय सरकारले अविलम्ब प्रदेश प्रहरी र प्रदेश निजामती कर्मचारी ऐन बनाउन अपरिहार्य रहेको छ ।

संघीयताको सवालमा मधेश जस्तै अन्य प्रदेशहरुले पनि सक्रियताका साथ आवाज उठाउनु पर्नेमा नेता निधिले जोड दिए । नेपाली कांग्रेस संघीय सर कारको प्रमुख घटक हो । प्रहरी समायोजन र निजामती ऐनका लागि नेता निधिले प्रदेश राजधानीमा बोल्ने गरे पनि सरकारमाथि दबाब दिन प्रभावकारी काम नगरेको आरोप प्रदेश सरकारका मन्त्रीहरुले लगाउँदै आएका छन् ।

मधेश प्रदेशको गृहमन्त्री नेपाली कांग्रेसका मोहम्मद समिम रहेका छन् । मधेश प्रदेशमा पनि कांग्रेस ठूलो सत्ता साझेदार हो । प्रदेशमा कुनै कम्पनी खोल्नु पर्यो भने काठमाण्डु जानु नपरोस्, प्रदेशकै राजधानीमा त्यसको अन्तिम फैसला होस् भनेर त्यसका लागि स्थानीय स्तरमै कर्मचारी प्रशासन चाहिने नेता निधिले बताए ।

सकेसम्म आफ्नो देशमा नै रोजगारी गर्नुपर्नेमा जोड दिँदै उनले बाहिर गएर सिकेका सीप नेपाल आएर सदुपयोग गर्न सकिने बताए । ‘पढेर बाहिर गएर काम गर्ने प्रचलन बढेको छ’ नेता निधिले भने, आफ्नो स्थानमा त्यही शिक्षा प्रयोग गरेर खेतीको आधुनिकीकरण गर्ने, उत्पादनमूलक काम र व्यवसाय गर्ने चलन नरहेको र यही कमजोरी हो ।

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा महासमिति सदस्यको मधेशी कोटा तर्फको चुनावमा क्षति ब्यहोर्नु परेको विषयलाई भने नेता निधिले भाषणमा उल्लेख गरेनन् । उनले राजतन्त्र नफर्किनेमा जोड दिए पनि पार्टी भित्र आफ्नै क्षेत्रमा भएको चुनाव परिणामबाट विचलित नभएको सन्देश दिन चाहेका हुन् ।

निर्वाचन क्षेत्र नम्बर ३ को महासमिति सदस्यमा नेता निधिले समर्थन गरेका पूर्व सभासद शिवचन्द्र चौधरी पराजित भएका छन् । चौधरीलाई जीवनाथ चौधरीले हराएर क्षेत्रमा प्रदेश सभासद रामसरोज यादवलाई निधिको विपक्षमा सशक्त नेताको रुपमा स्थापित गरेका छन् ।

Comment


Related News

Latest News

Trending News