अपडेट 
२०८० मंसिर १७, आईतवार १२:३८

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–११, पुरानो चौकीमा शनिवार साँझ भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा दुई प्रहरीसहित तीन जना घाइते भएका छन् ।

साँझ ७ बजेपछि पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश नं. २–०३–००६ प ६७ नम्बरको मोटरसाइकल र इलाका प्रहरी कार्यालय कर्मैयाबाट गस्तीमा रहेको विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । दुई वटा मोटरसाइकल ठोक्किएपछि प्रदेश नं. २–०३–००६ प ६७ नम्बरको मोटरसाइकल पछाडि सवार युवक सडकमा पछारिँदा काठमाडौँ हिँडेको ना ७ ख १८३६ बसले किच्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिलराज गिरीले जानकारी दिए ।

मृतक युवकको सनाखत हुन बाँकी छ । मृतक युवक ईश्वरपुर नगरपालिकाको बासिन्दा रहेको खुलेको र मृतकका परिवार आएपछि सनाखत हुने प्रहरी निरीक्षक गिरीले बताए ।

उहाँका अनुसार मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका सखुवनीका २१ वर्षीय रमेश महतो घाइते हुनुभएको छ ।

दुर्घटनामा इलाका प्रहरी कार्यालय कर्मैयाका वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) नारायण दाहाल र प्रहरीको मोटरसाइकल चालक प्रहरी हवलदार रामशरण न्यौपाने घाइते हुनुभएको छ । घाइते रमेश महतो र प्रहरी हवलदार रामशरण न्यौपानेको लालगढ अस्पताल, धनुषामा उपचार भइरहेको छ ।

वरिष्ठ सई दाहालको अवस्था भने सामान्य छ । दुर्घटनामा परेको दुवै मोटरसाइकल, बस र बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।

Comment


Related News

Latest News

Trending News