अपडेट 
२०८० मंसिर १७, आईतवार १६:४०

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रिय सभाको चुनावमा उम्मेदवार हुन नपाउने भएका छन् ।

निर्वाचन आयोगले आज आइतवार प्रेस विज्ञप्ति निकालेर समानुपातिक बन्दसूचीमा नाम भएका व्यक्ति राष्ट्रियसभामा उम्मेदवार बन्न नपाउने जानकारी गराएको हो । आयोगका सहायक प्रवक्ता एवम् उपसचिव सूर्यप्रसाद अर्यालले ऐनले तोकेअनुसार नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन नपाउने बताउनुभयो ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार त्यही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन पाउने छैनन्’, आयाेगकाे विज्ञप्ति उल्लेख छ ।

आयाेगले आउँदाे माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको पनि बताएकाे छ । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रियसभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते बिहान १० बजेदेखि ३ बजेसम्म तय गरेको हो । मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने मिति पुस २७ गतेका लागि तोकिएको छ । पुस २७ गते दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । पुस २८ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न उपलब्ध गराउने आयोगले जनाएको छ ।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि माघ ११ गते मतदान हुँदैछ ।

Comment


Related News

Latest News

Trending News