अपडेट 
२०८० मंसिर १८, सोमबार ०८:५४

मलङ्गवामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ । मलङ्गवास्थित जिल्ला समन्वय समिति (तत्कालीन जिविस) को भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ ।

कार्यालयको आइतबार मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले उद्घाटन गर्दै कार्यालय स्थापनाले सर्लाहीवासीले अब यातायात सम्बन्धी काम लिएर बर्दिबास, जनकपुर, वीरगञ्जलगायत ठाउँमा जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।

कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरण, रुट परमिट लगायतका सेवा प्रदान गरिने कार्यालय प्रमुख राकेश यादवले जानकारी दिए ।

कार्यक्रममा निवर्तमान रक्षामन्त्री एवम् सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह, मधेश प्रदेश सभाका सदस्यहरू कौशलकिशोर राय, जङ्गिलाल राय र उपेन्द्र महतो, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला लगायतले विचार व्यक्त गरेका थिए ।

मधेश प्रदेशका आठ जिल्लामध्ये सर्लाहीमा सातौँ कार्यालयको रूपमा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ । कार्यालय खुल्न बाँकी रहेको बारा सदरमुकाम कलैयामा पनि केही समयभित्रै कार्यालय स्थापना गर्ने तयारी रहेको जनाइएको छ ।

मलङ्गवाको कार्यालय प्रदेश स्तरको भए पनि यसले देशभरका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने कार्यालय प्रमुख यादवको भनाइ छ । उनका अनुसार आइतबार औपचारिक रूपमा कार्यालय स्थापना गरिए पनि सेवा प्रवाह सुरु गर्न केही दिन लाग्ने छ । आफू तत्कालै काठमाण्डु पुगेर यातायात व्यवस्था विभागबाट युजर तथा पासपोर्ट लिएर आउने र सम्भव भएसम्म यसै हप्ताभित्र सेवा प्रवाह सुरु गर्ने यादवले बताए । उनका अनुसार कार्यालयको तत्काल आफ्नै सरकारी ट्रायल सेन्टर नभएकाले निजी ट्रायल सेन्टरसँग समन्वय गरिने छ । जग्गा प्राप्त भएपछि आफ्नै ट्रायल सेन्टर निर्माण गर्न बजेट माग गरिने कार्यालय प्रमुख यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News