अपडेट 
२०८० मंसिर १८, सोमबार ०८:५७

रौतहट जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा खुलेआम रुपमा मदिरा बिक्री हुने गरेको पाइएको छ ।

नेपाल र भारतबीच भएको खुल्ला सिमानाका कारण सुरक्षा चुनौती धेरै रहेको अवस्थामा नेपाल सरकारले सीमा क्षेत्रमा निषेधित गरेको सीमा भित्रमा मदिरा पसल सञ्चालन गरी रक्सी बिक्री वितरण भइ रहेको देखिएको छ ।

दश गजा क्षेत्रदेखि ५ सय मीटर भित्रमा रक्सी पसल सञ्चालनमा रोक लगाइए पनि स्थानीय प्रहरी प्रशासनको कमी कमजोरीका कारण सीमा क्षेत्रमै दर्जनौं रक्सीको पसल सञ्चालन भइरहेको देखिन्छ ।

जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरी, वडा नम्बर ८ लक्ष्मीपुर बेलविच्छवा, गौर नगरपालिकाको वडा नम्बर २ महादेवपट्टी, ईशनाथ नगरपालिकाको वडा नम्बर १ बंजरहा, ४ मठिया , लतमरी तथा परोहा नगरपालिकाको खापस्थित भारतीय सीमावर्ती क्षेत्रमा रक्सी पसल १०० मीटर भित्रै सञ्चालनमा रहेको छ ।

सीमाक्षेत्रको भारतको बिहार राज्यमा रक्सी बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएपछि नेपाली सीमामा खोलिएको रक्सी पसलमा रक्सी खान आउने भारतीय नागरिकको घुइँचो लाग्ने गरेको स्थानीयहरुले बताएका छन् ।

खुल्ला सिमाना भएका कारण मदिरा सेवन गर्न भारतीय नागरिक नेपालतर्फ आउँदा आपराधिक घटना हुनसक्ने खतरा उच्च छ । दशगजासँगै टाँसिएको ईशनाथ नगरपालिका वडा नम्बर १ बंजरहा नाकामा २ सय मीटर भित्रमा करिब २० वटा भन्दा बढी रक्सीको पसल सञ्चालनमा रहेको छ ।

सीमा नाकामा सशस्त्र प्रहरीको चेक प्वाइन्ट थपिए पनि रक्सी खान आउने भारतीय नागरिकको समूहले अबेर रातिसम्म रक्सी पिउने गरेको र अधिक मात्रामा रक्सी सेवन गरेपछि लट्ठ भएर भारततर्फ जाने गरेको स्थानीयहरुले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार सीमा क्षेत्रमा खोलिएको रक्सी पसलको निरीक्षण अनुगमन गर्न रौतहटका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका उपनिर्देशकलगायत कुनै सरोकारवला आएका छैनन् ।

सीमा क्षेत्रमा समय समयमा अनुगमन नगर्दा नेपाली भूमि अतिक्रमित हुनुका साथै सीमा स्तम्भ समेत जीर्ण अवस्थामा पुग्दै गएको छ । सीमा क्षेत्रमा सञ्चालन गरिएको रक्सी पसलहरुका कारण आपराधिक क्रियाकलापको घटनाहरु बढ्दै गएकाले सरकारले रोक लगाइएको ५०० मीटर भित्र पर्ने मदिरा पसल समयमै अनुगमन निरीक्षण गरी बन्द गराउनुपर्ने स्थानीयहरुको माग छ ।

Comment


Related News

Latest News

Trending News