अपडेट 
२०८० मंसिर २०, बुधबार ०८:२५

सीताराम विवाह महोत्सवको अवसरमा अन्नबाट ११ हजार स्कवायर फिटको भगवान श्रीराम जानकीको मूर्ति निर्माणको तयारी सुरु गरिएको छ ।

विवाह पञ्चमी महोत्सवको मुख्य आर्कषणको रुपमा जनकपुरधाम उप महानगरपालिकाद्वारा विश्व रेकर्ड कायम गर्ने गरी रंगभूमि मैदानमा ७२ क्विन्टल अन्नबाट ११ हजार स्कवायर फिट ऐतिहासिक भगवान श्रीराम जानकीको मूर्ति निर्माण गरिने जनाइएको छ ।

जनकपुरधाम उपहानगरपालिकाका प्रमुख मनोज साहको अध्यक्षतामा मंगलबार जनकपुरधाममा बसेको बैठकबाट बिहीबारबाट औपचारिकरुपमा भगवान रामजानकीको मूर्ति निर्माण कार्यको सुरुवात गरिने जनाइएको छ । मूर्ति निर्माण पूर्व माटो भराइ कार्यदेखि लिएर मैदान मिलाउने कार्यहरु मंगलबार देखिनै सुरु गरिएको तथा निमार्ण स्थलमा दुईवटा नगरप्रहरीलाई २४ औ घण्टा सुरक्षा दिने गरी व्यवस्था गरिएको प्रमुख साहले बताए ।

मूर्ति निर्माणका लागि कुल २१ लाख २३ हजार खर्च हुने अनुमान गरिएको छ । अन्नबाट निर्माण गरिने रामजानकीको मूर्तिका लागि २५ क्विन्टल चामल, ६ क्विन्टल गेहुँ, ६ क्विन्टल सोयावीन, १८ क्विन्टल चना र १८ क्विन्टल उरिद दालको प्रयोग हुने जनाइएको छ । त्यसै गरी चना दाल ४ क्विन्टल, तुअर दाल ४ क्विन्टल, मसुर दाल ४, मकै ३, मोमफली २ र मुंग १२ क्विन्टल लाग्ने जनाइएको छ ।

मूर्ति निर्माण स्थलमा मैट, लाइट, साउण्ड, बाँस, त्रिपाल लगायतमा तीन लाखको खर्च अनुमान गरिएको छ भने क्यामरा र प्रचार प्रसार लगायतमा दुइ लाख खर्च हुने अनुमान गरिएको छ । यसै गरी मूर्ति निमार्णका लागि आ–आफनो तर्फबाट सहयोग प्रदान गर्न नगरवासी तथा श्रद्धालु भक्तजनलाई समितिले आग्रह समेत गरेको छ ।

मंगलबार उद्योग वाणिज्य संघमा बसेको बैठकबाट मूर्ति निमार्णमा लाग्ने २५ क्विन्टल चामल मध्ये २३ क्विन्टल चामल जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले प्रदान गर्ने घोषणा गरे । त्यसै गरी जनकपुरधामका निजी विद्यालयले १८ क्विन्टल चना, डाक्टर्स एशोसिएसनका डाक्टर रामजी यादवको तर्फबाट १८ क्विन्टल उरिद दाल, निजी अस्पताल एशोसिएसनका डा.एसके सिंहको तर्फबाट १२ क्विन्टल मुंग दाल र मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले ३ क्विन्टल मकै प्रदान गर्ने बैठकमा घोषणा गरेका थिए ।

विवाह महोत्सवको प्रमुख कार्यक्रम स्वयंवर हुने स्थल रंगभूमि मैदानमा करिब तीन कट्ठा क्षेत्रफलमा श्रीराम जानकी मूर्ति निर्माण गरिने यसअघि नै उपमहानगरपालिकाले निर्णय गरिसकेको छ ।

यसअघि भारतको अयोध्या (भगवान रामको जन्मभूमि) मा ९ हजार स्क्वयर फिटको प्रतिमा बनाइएको थियो । जुन प्रतिमाले विश्व रेकर्ड बनेको थियो । तर जनकपुरधाममा ११ हजार स्वाइयर फिटको प्रतिमा बनेपछि नयाँ रेकर्ड बन्ने भएको छ ।

अनाजबाट भगवान श्रीराम जानकीको मूर्तिमा भारत मध्य प्रदेशका सतिश गुर्जरले निर्माण गर्ने जनाइएको छ । उनको टीम जनकपुरधाम आइपुगेको छ । यसवर्ष आगामी पुस १ गते विवाह पञ्चमी रहेको छ ।

रंगभूमि मैदानमा अन्नबाट ११ हजार स्कावयर फिटको राम–जानकीको मूर्ति बनाउने निर्णयप्रति सामाजिक सञ्जालमा देशमा भोकमरी रहेको अवस्था मूर्ति बनाउने नाममा खेर फाल्नु कार्य गलत रहेको भनी व्यापक विरोध हुँदै आएको छ ।

यस सन्दर्भमा मेयर साहले मूर्ति निमार्णमा प्रयोग हुने अन्नको पुनः प्रयोग गरिने बताए । मूर्तिमा प्रयोग भएको दस प्रतिशत अन्न मात्र मिक्स हुने भएकोले त्यस्ता अन्नलाई गौशालामा प्रदान गरिने र बाँकी ९० प्रतिशत अन्नको पुनः प्रयोगमा ल्याइने बताए ।

Comment


Related News

Latest News

Trending News