अपडेट 
२०८० मंसिर २२, शुक्रबार १२:०२

रौतहटको कटहरिया स्थित बजारमा गए राति तीन वटा पसल बाट नगद र सामान सहित लाखौंको चोरी भएको छ। प्रहरी गस्ती टोलीले एक जना चोरलाई केही नगद र सामानसहित रंगेहात पक्राऊ गरेको छ ।

कटहरिया बजारको हनुमान मन्दिर छेउमा रहेको इलाका प्रहरी कार्यालय बाट मात्र दुई सय मिटर टाढा शिवशङ्कर साह तेलीको गल्ला पसलको मूल गेटमा लगाइएको तीन वटा ताला फोडेर बिहीबार मध्यरातमा चोर भित्र पसेर भित्र रहेको पैसा राख्ने गल्लाबाट झन्डै एक लाख रुपैयाँ चोरी गरेर लगेको बताइएको छ ।

त्यस्तै, कटहरिया नगरपालिका भवन छेउकै मूल सडकमा रहेको दुईवटा काठको गुम्ति फोडेर चोरले पान तथा कस्मेटिक पसलबाट नगद र विभिन्न सामानसमेत चोरेर लगेको बताइएको छ ।

चोरले दिनेश प्रसाद जायसवाल र अवध प्रसाद जैसवालको गुम्ति फोडेर एक जनाको नगद १५ हजार, र अर्काको नगद ३५, हजार तथा विभिन्न सामान चोरी लागेको पीडितद्वयले बताएका छन् । चोरीको घटनाबारे उनीहरूले पनि आज बिहान मात्र थाहा पाएर प्रहरीलाई खबर गरेका थिए।

यसैबिच इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको गस्ती टोलीले गए राति करिब दुई बजेको समयमा चोरीको घटना भएको जैसवालको पसल छेउबाट भाग्दै गरेको अवस्थामा एक जना चोरलाई नगद र सामानसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका ५ कटहरियाका रामेश्वर राय यादव रहेको इलाका प्रहरी कार्यालयका प्रमुख सई रामछवेला यादवले बताए।

भाग्दै गरेको अवस्थामा प्रहरीले लखेटेर पक्राउ गरेको आरोपी यादवको साथबाट करिब १५ हजार नगद र केही थान सेन्टको प्याकेट बरामद भएको सई यादवले जानकारी दिए।

पक्राउ परेका आरोपी चोर रामेश्वर यादवलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको प्रहरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News