अपडेट 
२०८० मंसिर २३, शनिबार ०८:०७

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । मधेश प्रदेश सरकार गठन भएदेखि नै पर्यटकीय स्थलहरुको पहिचान गरी त्यसका लागि विभिन्न योजनाहरु ल्याएको उनले बताए ।

जनकपुरधामको मुटु बाह्रविघाको छेउमा रहेको अन्जनी सुईट होटलको शुक्रबार समुद्घाटन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकार गठन भएपछि यहाँ देशी विदेशी पर्यटकको चाप बढेको बताउँदै यहाँ होटल व्यवसायको व्यापक सम्भावना रहेको बताए । जनकपुरधाममा आउने अधिकांश धार्मिक पर्यटक रहेका कारण यहाँको वातावरणसमेत सोही अनुरुप हुनुपर्ने उनले भने ।

यहाँका धर्मशाला र होटलहरु संख्यात्मक रुपमा रहे पनि गुणस्तरीयतामा ध्यान दिनुपर्ने उनले सुझावसमेत दिए । जनकपुरधाममा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँ कसरी रोकेर राख्न सकिन्छ त्यसतिर पनि ध्यान दिन उनले व्यवसायीहरुसंग आग्रह गरे । जनकपुरधाममा व्यापक परिवर्तन भएको बताउँदै मुख्यमन्त्री यादवले जनकपुरधामलाई राजधानी बनाउन सभामुखको कुर्सीमा बसेर खेलेको भूमिकालाईसमेत स्मरण गरे ।

अञ्जनी सुईट पर्यटकलाई मध्यनजर गर्दै स्तरीय होटलको रुपमा थपिएको बताउँदै मुख्यमन्त्री यादवले जनकपुरधाममा यस्ता होटलको आवश्यकता रहेकोसमेत बताए । जानकी मन्दिर, बाह्रविघा जनकपुरधामको धरोहर रहेका कारण यसमा स्थानीय सरकार, प्रदेश सरकार र स्थानीयबासीहरु समेत मिलेर जोगाएर राख्नुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारले जानकी मन्दिरको सौन्दर्यकरण लगायतका यहाँका पोखरी, तलाउहरुको सौन्दर्यकरणका लागि देखाएको तदारुकतामा स्थानीयबासीहरुलाई उत्साहित भएर सहयोग गर्नुपर्ने विचार व्यक्त गरे । प्रदेश सरकारको आर्थिक गतिविधि नभएका कारण व्यवसायीहरुलाई समस्या भएको उनले स्वीकारे । उनले भने–‘मधेश प्रदेश सरकारको चालु आर्थिक बर्षको गतिविधि रोकिएका कारण बजारमा व्यवसायीहरुलाई समस्या भएको छ, अब सरकारको कामकारबाही अगाडि बढेपछि व्यवसायीहरुको समस्या समाधान हुनेछ ।’ मधेश प्रदेशलाई पर्यटकीय दृष्टिकोणले अगाडि बढाउने योजना सरकारको रहेको बताउँदै उनले त्यसको भौतिक संरचनाको रुपमा जनकपुरधाम लगायत यस आसपास क्षेत्रमा होटल व्यवसाय फ्ष्टयाएको बुझ्न आग्रह गरे ।

जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, गंगा आरती, विवाह मण्डप, धनुषाधाम, छेउमै रहेको जलेश्वर नाथ, वीरगञ्जको गढीमाइ, सप्तरीको कंकालनी भगवती लगायत दर्जनौ स्थान छन् जसले पर्यटकलाइ लोभ्याउन सक्ने उनको तर्क थियो ।

समुद्घाटन गरिएको होटल अञ्जनी सुईटमा ३६ वटा लग्जरीयस एसी कोठा, पार्किङ्गको पर्याप्त ठाउँ, टप फ्लोरमा रहेको रेष्टुरेन्ट, लिफ्ट र टप फ्लोरबाट दिन वा रातमा जनकपुरधामको जुन भिउ आउँछ त्यो पर्यटकलाई लोभ्याउने खालको हुने होटल सञ्चालकको दाबी छ । जनकपुरधाम आएका पर्यटकहरुले होटलको टप फ्लोरमा रहेको रेष्टुरेन्टमा मिथिला परिकार लगायतका स्वादका साथै जनकपुरधामको अलौकिक दृश्यावलोकन गर्नसक्ने उनको दावी छ ।

अन्य ठाउँमा भिउ टावर सरकारले बनाएका छन् तर यो होटल नै भिउ टावर जस्तो भएको उनको भनाइ छ । कार्यक्रममा उर्जा, सिँचाई तथा खानेपानी मन्त्री सिंहासन साह कलवारले मधेश प्रदेशका होटल व्यवसायीहरुलाई सरकारले संरक्षण, सुरक्षाको प्रत्याभूति गराउन सफल भएको दाबी गरे । उनले मधेश प्रदेशका कुनै पनि व्यवसायीले आफूलाई असुरक्षित महसुस नगरेको भन्दै मधेश प्रदेश सरकारको सकारात्मक कामहरुमध्येको एक काम रहेको बताए ।

सरकारले पर्यटन क्षेत्रलाई व्यवस्थापन गर्न यहाँका व्यवसायीहरुलाई संरक्षण, सुरक्षा दिन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । मन्त्री साहले मधेश प्रदेश सरकार मधेश प्रदेशमा पर्यटक भित्र्याउने योजना बनाइ रहेको र विगतका योजनाहरुलाई प्रतिबद्ध भइ कार्यान्वयन गर्न लागिपरेको बताए ।

Comment


Related News

Latest News

Trending News