अपडेट 
२०८० मंसिर २६, मंगलवार ०७:३८

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीयता कार्यान्वयनमा सवैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताएका छन् ।

उनले राष्ट्रिय सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गोमा पुर् याउनुपर्ने बताए । धनुषाको औरही गाउँपालिका–४ मा सोमबार नेपाली कांग्रेसका पुराना नेता एवं धनुषा निर्वाचन क्षेत्र नं २ का पूर्वसभापति राजकिशोर सिंह राजपुतको सालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै सभापति देउवाले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलगायतका निकायले उठाइरहेका सवाल सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।

मधेश प्रदेशका मुख्यमन्त्री सहित सबै राजनीतिक दलका नेताहरुले आइतवार भेंटेर सभापति देउवालाई प्रहरी समायोजन, निजामती ऐन लगायतका ६ वटा मागको सम्बोधन गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । संघीयता कार्यान्वयनमा शीर्ष नेताहरु अनुदार रहेको आरोप प्रदेश सरकारले लगाउँदै आएका छन् । संघीयता कार्यान्वयनको विषयमा सोमवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक भएको थियो ।

सभापति देउवाले संघीयता कार्यान्वयन नभए सम्म प्रदेश सबल नहुने बताउँदै स्थानीय तह र प्रदेश सरकारबीच समन्वय आवश्यक रहेको बताए । सभापति देउवाले प्रजातन्त्रका लागि पञ्चायतकालदेखि नै सक्रिय नेपाली कांग्रेसका प्रतिबद्ध नेता सिंहले पार्टी सङ्गठन र परिवर्तनका लागि भएका आन्दोलनमा पुर्याएको योगदानको सम्मानका लागि पनि पार्टी नेता कार्यकर्तालाई क्रियाशील हुन आग्रह गरे ।

कार्यक्रममा पार्टीका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले संविधानअनुसार दुई–दुईपटक निर्वाचन भइसक्दा पनि सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण काम बाँकी रहेको भन्दै दलहरुले गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व मधेश र कांग्रेसले गरेका भन्दै संघीयता कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए । आगामी महासमिति बैठकमा सङ्घीयतासँग जोडिएका बाँकी काम, प्रदेशलाई बलियो बनाउन प्रहरी प्रशासन, निजामती कर्मचारी, स्थानीय तहले काठमाण्डु धाउनुपर्ने अवस्था अन्त्य गर्ने विषय मुख्य एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने धारणा उनले राखे ।

पार्टीका सहमहामन्त्री महेन्द्र यादवले कांग्रेस बलियो भएमा मात्रै सङ्घीयता, मधेश र देश बलियो हुने भन्दै आगामी दिनमा पार्टीलाई थप बलियो बनाउन सबै एकढिक्का हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद रामकृष्ण यादव, पार्टीका प्रदेश सभापति एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव, धनुषा सभापति योगेन्द्र पजियार, स्व सिंहका छोरा डा कुनाल सिंहलगायतले सङ्घीयता कार्यान्वयन, बेरोजगारी समस्या समाधान र विकासको गति बढाउन ठूलो पार्टीका हैसियतले कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिए ।

विसं २०१३ वैशाख २ गते जन्मिएर गत वर्ष मङ्सिर १ गते दिवङ्गत भएका सिंह लगातार चार कार्यकाल क्षेत्र नं २ को सर्वसम्मत सभापति भएका थिए । पञ्चायतकालमा प्रजातन्त्र पुनर्बहालीका लागि पार्टीको क्रियाशील सदस्य भएर लाग्ने थोरै नेताहरुमध्ये सिंह पनि एक थिए ।

Comment


Related News