अपडेट 
२०८० मंसिर २६, मंगलवार ०८:३८

लामो समयदेखि जनकपुरधाममा व्यापार गर्दै आएको सोहन शर्माको पसलमा एक सातादेखि बोहनी समेत हुन नसकेपछि उनी चिन्तित देखिएका छन् । उनी भन्छन्–‘एक सातादेखि बोहनी समेत नहुँदा बैंकको ऋण, घर भाडा कसरी तिर्ने र घर परिवार कसरी चलाउने ।’ शर्माको चिन्ताको एउटै कारण हो ‘आर्थिक मन्दी’ ।

बजारमा सर्वसाधारणको चहलपहल देखिए पनि व्यापारमा खासै सुधार आएको छैन् । अर्थतन्त्रमा आएको गिरावटको कारण आम उपभोक्ताहरुको क्रयशक्ति घटेकोले यस पटक दशै, छठ जस्ता चाडपर्वमा पनि राम्रो कारोवार हुन नसकेको शर्मा बताउँछन् ।

जनकपुरधामको शिव चोकका अर्का व्यापारी विजय साहले आर्थिक मन्दीका कारण बजारमा उपभोक्ताहरुको पातलो उपस्थिति रहेकोले व्यापारमा भने उत्साह नदेखिएको बताए । उनले पनि व्यापार नहुँदा घरभाडा, बैंक ऋण तिर्न मुश्किल पर्ने अवस्था आएको बताए ।

खुल्ला सीमाको कारण अधिकांश उपभोक्ताहरु भारतीय बजारतर्फ आकर्षित हुनु, कोरोनाको प्रभाव लामो समयसम्म देखिनु, बैंक ब्याज चर्को हुनु, जथाभावी रुपमा घरभाडा बढ्नु जस्ता कारणले जनकपुरधाम बजार क्षेत्रका १५० भन्दा बढी सटरहरु बन्द गरेर व्यापारीहरु पलायन भई सकेका छन् । आर्थिक मन्दी, बैंकको उच्च ब्याजदर, चर्को घरभाडा जस्ता कारणले व्यापार व्यवसायको गति सुस्ताएको छ । अर्को व्यापारी मोहम्मद असगर खानले पीडा पोख्दै भने,–‘ विगत तीन महिनादेखि व्यापार खस्केकोले बैंकको ऋण तथा घरभाडा तिर्न धौ धौ परेको छ ।’

जनकपुर बजारमा मात्र पहिले दैनिक ५० लाखभन्दा बढी व्यापार हुने गरेकोमा अहिले आर्थिक मन्दीको कारण दैनिक १० लाखको पनि व्यापार नभएको व्यापारीहरु बताउँछन् । १० हजार पसल रहेकोमा अहिले आर्थिक मन्दीको कारण व्यापारीहरु पलायन हुँदा ७ हजार जति पसल मात्र जनकपुरधाम क्षेत्रमा रहेको छ । बाँकी रहेका पसलहरु पनि आर्थिक मन्दीको चपेटामा परेको छ ।

यहाँका ९५ प्रतिशत व्यापारीहरु बैंकबाट ऋण लिएर व्यापार गरिरहेका छन्, तर बैंकको ब्याज लिने नीति गलत भएकोले व्यापार घाटा उच्च रहेको छ । विगतमा जनकपुरधामका व्यापारीहरुको ८० प्रतिशत पहाडी समुदाय ग्राहक रहेका कारण व्यापार उच्च रहेको जनकपुरधामका अर्का व्यापारी पशुपति सुल्तानिया बताउँछन् ।

तर पहाडी समुदाय पलायन भएकोले व्यापार प्रभावित हुन पुगेको उनी बताउँछन् । जनकपुरधामबाट ३५ किलोमिटर उत्तर पश्चिममा बर्दिवास बजार भन्ने पहाडी समुदायको कारण भरिभराउ देखिन्छ । त्यहाँ ग्राहकको भीड पनि बाक्लो हुने गरेका छन् । खस्कदो व्यापारलाई अगाडि बढाउन तस्करी नियन्त्रण गर्नुपर्ने, करको दायरा बढाउनुपर्ने, व्यापारीकरुको हकहितलाई ध्यानमा राखी सरकारले बैंक ब्याज दर र कर घटाउनुपर्ने माग यहाँका व्यापारीहरुको रहेको छ ।

Comment


Related News