अपडेट 
२०८० मंसिर २८, बिहीबार ०८:२६

बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा प्रहरीले चलाएको गोलीबाट बुधवार एकजना युवकको मृत्यु भएको छ । नगरपालिकाका आन्दोलनरत कर्मचारी र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु भएको छ ।

गोली लागेका सिम्रौनगढ नगरपालिका वडा नम्बर १ का २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ ।

बारा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष काफ्लेले मुखियाको मृत्यु भएको पुष्टि गरेका छन् । स्थानीयका अनुसार प्रहरीले चलाएको अन्धाधुन्ध गोली लागेर उनको घटनास्थलमा नै मृत्यु भएको छ ।

प्रहरीले घटनालाई नियन्त्रण गर्न ४५ राउण्ड अश्रुग्यास( टीयर ग्यास ) र १२ राउण्ड हवाई फायर गरेको बताइएको छ । एसपी काफ्लेले प्रहरीमाथि समेत ढुंगामुढा हुन थाले पछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास चलाउदा पनि भीड तितरबितर नभएपछि प्रहरीले हवाईफायर गरेको जनाएका छन् ।

एसपी काफ्लेका अनुसार मेयर किशोरी प्रसाद कलवारले नयाँ प्रशासकीय अधिकृत महेश कुमार मिश्रलाई कार्यालयमा हाजिर गराउने प्रयासगर्दा झडप भएको थियो । कलवार लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बाट मेयरमा निर्वाचित भएका छन् ।

मेयरको बिरोधमा उपमेयर लगायतका पदाधिकारी र अधिकांश कर्मचारी रहेको बताइन्छ । प्रशासकीय अधिकृत नहुँदा कर्मचारीहरुको तलब, सुबिधा लगायतका काम अगाडि बढाउन नसकेको बताउँदै मेयर कलवारले आन्दोलनरत्त कर्मचारीहरुको माग पूरा गर्न प्रशासकीय अधिकृत ल्याएको दाबी गरेका छन् ।

तलब र सेवा सुविधाको मागगर्दै नगरपालिकाका कर्मचारीहरु करिब २ महिनादेखि आन्दोलनमा छन् । कर्मचारीहरु सेवासुविधाको मागगर्दै गेटमा धर्ना बसेर आन्दोलन गर्दै आएका छन् । नगरपालिकाका मेयर कलवारले सरुवा भएर आएका प्रशासकीय अधिकृत मिश्रलाई जबर्जस्ती हाजिर गराउने प्रयासगर्दा विवाद उत्पन्न भएको थियो ।

नयाँ हाकिम मिश्रसंग आफूहरुको समस्या किन सुनाउन नलगाएको भन्दै मेयर कलवारविरुद्ध आन्दोलनरत कर्मचारीहरुले गेट बाहिर टायर बालेर प्रदर्शन गरेका थिए । मेयर कलवारले हाकिमसहित कार्यालयमा आफू थुनिएको सुइँको पाएपछि बारा प्रहरीसंग गुहार मागेका प्रहरी अधिकारीहरुले जनाएका छन् ।

सो क्रममा घटनास्थलमा पुगेको प्रहरी टोलीमािथ कर्मचारीहरुले ढुंगामुढा प्रहार गर्दा दोहोरो झडप भएको बताइएको छ । स्थिति बेकाबु हुन लागेपछि सुरुमा अश्रुग्यास प्रहार गरेको प्रहरीले दर्जन राउण्ड हवाइफायर समेत गरेको थियो ।

झडपमा प्रहरीतर्फ १० जना घाइते भएको बाराका एसपी काफ्लेले जनाएका छन् । घाइते प्रहरीको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।उनीहरु खतरामुक्त रहेको उनले बताए ।

प्रदर्शनकारीतर्फ भने अन्य कोही घाइते नभएको एसपी काफ्लेले जनाएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको निर्वाचन क्षेत्रमा सिम्रौनगढमा शान्तिसुरक्षाको अवस्था कमजोर रहेको छ ।

बिगतमा पनि त्यस नगरपालिकामा हिंसात्मक घटनाहरु भएका छन् । एसपी काफ्लेको आगमन भएदेखि कलैया उपमहानगरपालिकामा एकजनाको दिनदहाडै गोली हानेर हत्या गरिएको घटना सेलाउन नपाउँदै प्रहरीको गोली लागेर युवकको ज्यान गएको छ ।

Comment


Related News