
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण बिहीवार थुनामुक्त भएका छन् ।
उच्च अदालत पाटनले खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश दिएपछि थुनामुक्त भएका छन् । खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका थिए । काठमाण्डु जिल्ला अदालतले खाणलाई पुर्पक्षका लागि थुनामा राख्न असार १ गते आदेश गरेको थियो । त्यसमा चित्त नबुझेर उनी उच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा न्यायाधीश पाण्डेले खाणसँग ३० लाख धरौटी माग गरी थुनामुक्त गर्ने राय दिएका थिए । तर अर्का न्यायाधीश प्रकाश खरेलले फरक राय दिइ थुनामै राख्नुपर्ने आदेश गरेका थिए ।
न्यायाधीश खरेलले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाण अहिले नै निर्दोष रहेछन् भनी भन्न नसकिने भन्दै उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय दिएका थिए । दुई न्यायाधीशको राय बाझिएको कारण अदालतले तेस्रो न्यायाधीशको इजलासमा मुद्दालाई पठाएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणसँग ३० लाख धरौटी लिई छाड्ने आदेश दिएको छ । न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायमा सहमत हुने आदेश गरेपछि खाणले धरौटी राखेर थुनामुक्त भएका छन् ।
मंसिर ५ गतेदेखि निरन्तर भएको सुनुवाइपछि अन्य प्रतिवादीहरुको हकमा केहीलाई थुनामै राख्ने र केहीसँग धरौटी लिइ तथा केहीलाई साधारण तारेखमै छाड्ने आदेश हुँदा बालकृष्ण खाणको हकमा न्यायाधीशको राय बाझिएको थियो ।
निर्दोष रहेका खाणलाई थुनामुक्त गर्ने आदेश दिएर उच्च अदालतले न्याय गरेको उनका सहयोगी नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जनाएका छन् ।‘ नेता खाणलाई अन्यायपूर्ण ढंगले मुद्दा लगाइएको थियो’ उनले भने, उच्च अदालतबाट न्याय मिलेको छ ।