अपडेट 
२०८० मंसिर ३०, शनिबार १२:०९

सीताराम विवाह महोत्सवका अवसरमा रंगभूमि मैदानमा दश हजार स्क्यावर फिटको सीतारामको आकृति तयार भएको छ ।

पाँच दिनमा आकृति तयार भएसँगै यसमा प्रयोग गरिएको अनाजलाई सदुपयोगमा ल्याउनसमेत सरोकारवाला पक्ष गम्भीर देखिएका छन् । सीताराम आकृति तयार भएपछि यसको दर्शनका लागि समेत आम जनमानसलाई निमन्त्रणा गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले सीतारामको आकृतिमा प्रयोग गरिएको अनाजलाई सदुपयोग गर्ने जनाएका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख साहले एक सय क्वीन्टल भन्दा बढी अनाजको प्रयोग गरिएको प्रति चिन्ता व्यापकरुपमा उठिरहेको भन्दै उनले यस अन्नको सदुपयोग गर्नका लागि लागिपरेको बताए । उनले भने, ‘धार्मिक स्थलको रुपमा रहेको जनकपुरधाम सीता माताको गृहनगर रहेकाले हामीले विभिन्न संघसंस्था तथा विभिन्न व्यक्तिहरुको सहयोग र संयोजन तथा समर्थन पाएपछि सीतारामको आकृतिमा बनाउन अभिप्रेरित भएका हौँ ।’ ‘अनाजलाई कसरी प्रयोग गर्ने भन्नेमा हामी लागिपरेका छौँ, त्यसैले यस विषयमा नकारात्मक टिकाटिप्पणी भन्दा पनि अहिले सकारात्मक कामका लागि सबैसँग सहयोग माग्दै सफल पार्नका लागि आग्रह गर्दछौँ ’उनले भने ।

नगर प्रमुख साहले यो प्रतिमा विश्व सम्पदाको सूचीमा ल्याउनका लागि पनि हामी पहलकदमी लिइरहेको बताउदै सीतारामको प्रतिमा करिब एक सातासम्म रहने भएकाले यसको सुरक्षा घेरामा नगर प्रहरी र नेपाल प्रहरीसमेत सुरक्षा प्रबन्धको व्यवस्थामा सहयोग गर्ने जनाए ।

सीतारामको प्रतिमा बनाउनका लागि संयुक्त खाता खोलेर नगरवासी तथा सहयोगी दाताहरुबाट रकम संकलन गरी काम गरेको बताउदै उनले सीतारामको आकृति बनाउनमा सतिश गुज्जर र गुनगुन मिश्रालाई विशेष धन्यवादसमेत दिए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सीतारामको आकृति तयार भइसकेकाले शनिबारदेखि नगरवासी, श्रद्धालु भक्तजनलगायत सबैमा दर्शनका लागि अपिलसँगै निमन्त्रण दिए । उनले ८० प्रतिशत अनाजको बर्बादी हुन नदिने योजना रहेको भन्दै प्रयोग भएको अनाजलाई सदुपयोग गरिने बताए । बर्बाद हुनबाट बचेको अनाजलाई जोगाएर विभिन्न आश्रममा सहयोगसँगै बितरण गर्ने योजना आफुहरुको रहेको उनले बताए । उनले यस सीतारामको आकृति बनाउनका लागि स्थानीय व्यापारी तथा व्यवसायीसमेतको भरपुर सहयोग रहेको जनाए ।

निर्देशक तथा कलाकार सतिश गुज्जरले १० हजार स्क्वायर फिटमा सितारामको आकृति बनाउनका लागि पाँच दिन लागेको बताए । एक सय एक क्विन्टल भन्दा बढी पाँच किसिमको अनाजको प्रयोग गरिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News