अपडेट 
२०८० पुष १, आईतवार ०८:२५

सीताराम विवाहपञ्चमी आज हर्षोल्लासपूर्वक मनाइँदै छ । त्रेतायुगमा भगवान सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् ।

एक साता अघिदेखि नै वैवाहिक विधिहरू सुरू भए पनि आज हुने वैवाहिक समारोहमा सहभागी हुन श्रद्धालुहरु खचाखच भरिएका छन् । त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयंवरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

गोस्वामी तुलसी दासको रामायण अनुसार जनकपुरधामको बाह्रविघा मैदानमा आयोजना गरिएको सो स्वयंवरमा देवी देवताको उपस्थिति रहेको थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार तिलकोत्सव, मटकोर, स्वयंवर र विवाह संस्कार सम्पन्न हुने गरेको छ ।

पौराणिक व्यवस्था अनुरूप राममन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी बाह्रविघा मैदान पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी बाह्रविघा मैदानमा लगिने चलन रहेको छ ।

बाह्रविघामा स्वयंवर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याइ मिथिला संस्कृति अनुसार विवाह सम्पन्न गरिन्छ । फूलवारी प्रसङ्गदेखि स्वयंवरसम्मको आयोजनाले महोत्सव देैवी विवाह महोत्सवका रूपमा रूपान्तरित भएको अनुभव गर्दे सहभागी मिथिलाका नारी तथा पुरूष आफूलाई धन्य सम्झन्छन् ।

महोत्सवका दिन श्रद्धालु एका विहानैदेखि पवित्र सरोवरहरूमा स्नान गरी पूजाअर्चना र भाकल गर्ने गर्छन् । यस अवसरमा भजन, कीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना गर्ने चलन रहेको छ । त्रेता युगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरूषोत्तम रामका गुरू विश्वामित्रसँग जनकपुरधाम आउनु र माता सीतासँगको विवाहको सेरोफेरोमा केन्द्रित रही यहाँ विवाह महोत्सव मनाइने गरिएको छ ।

सोही विवाह प्रसंगलाई विभिन्न पक्षद्वारा सजीव र मूर्तरूपमा प्रस्तुत गर्नु महोत्सवको विशेषता मानिएको छ । भगवान रामको चरित्र लौकिक र अलौकिक रूपमा लोकमानसमा अंकित छ । अलौकिक रूपमा रामलाई निर्गुण ब्रम्ह एवम् सगुण विष्णु मानिएको छ भने सीतालाई शक्तिस्वरूपा ,बुद्धिरूपा, ब्रम्हमयी र योगमायाको संज्ञा दिइएको छ ।

Comment


Related News

Latest News

Trending News