अपडेट 
२०८० पुष २, सोमबार १९:४३

जनकपुरको जानकी मन्दिरमा विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । विवाह पञ्चमी महोत्सवअन्तर्गत आज साेमवार रामकलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो ।

विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई खिर, मिठाईलगायतका परिकार खुवाउने परम्परा रहेको छ । याे परम्परालाई मिथिलाञ्चलमा मौहकसमेत भन्ने गरिन्छ । हिजो आइतवार राति वैदिक परम्पराअनुसार प्रतीकात्मक भगवान् राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको हाे ।

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले रामकलेवाअन्तर्गत आज सयौँ साधुसन्तलाई ५६ व्यञ्जनको भोजन गराइएको जानकारी दिनुभयो । एक हप्तादेखि विवाह पञ्चमीका लागि भरिभराउ जनकपुरधाम गए राति सीताराम विवाह सम्पन्न भएलगत्तै श्रद्धालु भक्तजन फर्किन थालेका छन् ।

विवाह पञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैँटौँ दिन स्वयम्वर र राति वैवाहिक कार्यक्रम तथा अन्तिम दिन आज रामकलेवा विधि गरी महोत्सव सम्पन्न भएको हो ।

Comment


Related News

Latest News

Trending News