अपडेट 
२०८० पुष ५, बिहीबार ०७:२१

धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोसहित १८ जनाविरुद्ध कानुनविपरीत ठेक्का लगाई अवैध ढुंगा, गिट्टी तथा बालुवा उत्खन्न गरे/गराएको आरोपमा सिराहा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

डिभिजन वन कार्यालय सिराहाले पक्राउ परेका मञ्जितकुमार यादव, फुलकुमार यादव, सन्दिपकुमार यादव, रामकुमार यादव, अरविन्द किशोर यादव, ईन्द्रजित महतो, रमनकिशोर यादव, पुरुषोत्तम यादवलगायतविरुद्ध मुद्दा दायर गरिएको हो ।

यस्तै जेसीबी धनी बद्री यादव, ट्र्याक्टर धनीहरु अजित पासवान, रधुनाथकुमार महतो, विमल अधिकारी, सरोजकुमार यादव, राकेश यादव, हरि नेपाली तथा धनगढीमाई नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धनगढी सिराहाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो, प्रशासन शाखा सहायक रंजितकुमार सिंह र वरुण कन्स्ट्रक्सन, धनगढीमाई सिराहाका प्रो. निलमकुमारी यादवविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय सिरहाले जनाएको छ ।

उनीहरुविरुद्ध वन नियमावली, २०७९ को नियम ३०(५) र वातावरण संरक्षण ऐन, २०७६ को दफा ३(ख) बमोजिम तथा ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा ४(ख) र ६(३) बमोजिमको प्रक्रिया पूरा नगरी ठेक्का लिई लगाई अवैध ढुंगा, गिट्टी तथा बालुवाको उत्खनन् गर्ने/गराउने कार्यमा संलगन रहेको आरोप लगाइएको छ । प्रतिवादीहरुले १ लाख ५७ हजार ८ सय १५ रुपैयाँ बराबरको हानी नोक्सानी गरेकोले बिगोसहित वन ऐन, २०७६ को दफा ४९(झ) बमोजिम कसुरमा सोही ऐनको दफा ५०(६)(ड.) वमोजिम सजाय हुन र बोझवाहकको हकमा सोही ऐनको दफा ६८(१) बमोजिम जफत हुन मागदाबी गरिएको छ ।

सिराहा जिल्ला धनगढीमाई नगरपालिका वडा नं. १२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्रभित्रबाट बिनाईजाजत अनटेस्ट जेसीबी १ थान र ७ वटा ट्र्याक्टर प्रयोग गरी अनियमित तबरबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरिरहेको अवस्थामा वनको टोलीले मंसिर १५ गते पक्राउ गरेको थियो ।

Comment


Related News

Latest News

Trending News