
भारतको बैंग्लोरमा ग्याँस लिक भइ आगलागी हुँदा मजदुरी गर्ने एक नेपाली परिवारका पाँच जना गम्भीर घाइते भएका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका –१ हीरापुर ठेगाना भएका सन्देश तिरुवाको परिवार आगलागीमा परी गम्भीर घाइते भएका छन् । । घाइतेहरुको बैंग्लोरस्थित विक्टोरिया अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
प्रवासी नेपाली सङ्घ भारतका केन्द्रीय सचिवालय सदस्य तिलकराज कँडेलले राति एउटै कोठामा सुतेका तिरुवा परिवार आगलागीमा परी घाइते भएको जानकारी दिए ।
२८ वर्षीय सन्देश तिरुवा, श्रीमती २६ वर्षीया निकला, छोराछोरी तीन वर्षका रोहन, सात वर्षका रोशन र १५ वर्षका रोशनी तिरुवा जलेर घाइते भएको जनाउँदै उनीहरुको उपचारमा आर्थिक समस्या भएको कँडेलले बताए ।
केही वर्षदेखि परिवारसहित भारतमा रोजगारी गरिरहेका तिरुवा परिवारका सदस्यको उपचारका लागि भारतमा रहेका नेपालीले सहयोग जुटाउन थालेको उनले जानकारी दिए ।