अपडेट 
२०८० पुष ६, शुक्रबार ०७:२३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तरघातबाट जोगाउनु पर्ने बताएका छन् ।

बिहीबार जनकपुरधाम स्थित नेपाली काँग्रेस मधेश प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टीलाई अन्तरघातकै कारण विगतदेखि नै क्षति हुँदै आएकाले अहिलेदेखि सचेत हुनुपर्ने बताए । देशमा समावेशी समानुपातिकलगायतको व्यवस्थाका कारण कुनै पनि दललाई बहुमत आउने सम्भावना नभएकाले पार्टीलाई आन्तरिक कलहबाट जोगाउन सकेमा आउने दिनमा काँग्रेसले नै संघ र प्रदेश सरकारको नेतृत्व गर्ने उनले विश्वास व्यक्त गरे ।

सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले आउने निर्वाचनमा पार्टीलाई अधिक बहुमत आउने गरी काम गर्नुपर्ने भएकाले यसको अगुवाई मधेश प्रदेशबाटै हुने धारणा राखे ।

त्यस्तै उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता मुलुकका लागि आवश्यक रहेको औल्याउँदै संघीयतालाई सशक्त बनाउनका लागि कानुन र नियमावली बनाएर अघि बढ्नुपर्ने जरुरी रहेकोले यसतर्फ हामी लागि परेको बताए ।

त्यस्तै उपसभापति तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुंगले कानुन कार्यान्वयनका लागि आवश्यक नियमावली नहुँदा संघीयतालगायतका मुद्दा विरोधी आवाजलाई छिट्टै नै शिथिल पारिने बताए । उनले संघीयतासँग जोडिएका कानुन बनाउन ढिलाइ भएको खण्डमा अध्यादेशबाट पनि आवश्यक कानुनहरु ल्याउन सरकार तयार रहेको बताए ।

त्यस्तै महामन्त्री गगन थापाले मुलुकमा भ्रष्टाचार, कुशासन बढी रहेकोले संघीयता विरोधीहरुले चर्कोस्वरमा अजाव उठाउनुका कारण सरकार र नेताहरुको रवैयाले गर्दा यो अवस्थाको सृजना भएको बताए । उनले भने, ‘नेताहरु आ–आफ्नो स्वार्थमा लागेर जनताप्रति उत्तरदायी नहुँदा जनता हामीप्रति असन्तुष्ट देखिएका छन् ।’ उनले बढ्दै गएको विकृति र विसंगतिलाई समाप्त पार्न केही महिनापछि कांग्रेस नेतृत्वमा गठन हुने सरकारले विद्यमान विकृति र विसंगतिलाई हटाएर देशमा सुशासन कायम गर्ने बताए । सरकारको नेतृत्व माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गरे पनि मुलुकको नेतृत्व कांग्रेसले नै गरिरहेको बताए ।

अर्थमन्त्री प्रकाशशरण महतले प्रदेश सरकारद्वारा गरिने विकास निर्माणको कार्यमा व्यापक भष्टाचार भएको जनगुनासो आउन थालेकाले यसप्रति कांग्रेसले खबरदारी गर्नुपर्ने बताए ।

मधेश प्रदेशका सभापतिसमेत रहेका मधेश सरकारका भौतिक विकास पूर्वाधार मन्त्री कृष्ण प्रसाद यादवको सभापतित्वमा भएको सम्मेलनमा ८ जिल्लाबाट ८ सय २५ प्रतिनिधि सहभागी भएका छन् ।

शुक्रबार हुने बन्दसत्रमा राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन संशोधनसहित पारित हुने मधेश प्रदेश सभापति यादवले बताए । त्यस्तै काँग्रेस सहमहामन्त्री महेन्द्र यादवले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसलाई बेवास्ता गर्दै एक्लौटी ढंगले सरकार संचालन गरिरहेको भन्दै यसका लागि खबरदारी गर्नुपर्ने बताए । सम्मेलन शुक्रबार सम्पन्न हुने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News