
जनकपुरधामस्थित निजी विद्यालय सिद्धार्थ शिशु सदनले विभिन्न कार्यक्रम गरी आफ्नो ४३ औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।
वार्षिकोत्सवको तीन दिने कार्यक्रम अन्तर्गत रक्तदान, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, शिल्प (क्राफ्ट), कम्प्यूटर प्रविधि प्रदर्शनीसहित खाद्यान्न मेला र अनाथ आश्रम, मानव सेवा आश्रम तथा वृद्धा आश्रमलाई सहयोग सहितका कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार विद्यालयका शिक्षक, पत्रकार तथा शुभेच्छुक संघ संस्थाहरुलाई सम्मान सहित केक काटेर तीन दिने वार्षिकोत्सव कार्यक्रम सिद्धार्थले सम्पन्न गरेको छ। विद्यालयका संस्थापक चन्द्र देवानको नाममा फण्ड स्थापना गरी प्रत्येक वर्ष असहाय, जेहेन्दार विद्यार्थीलाई स्कर्लरसीपको माध्यमबाट सहयोग गर्ने तयारी अघि बढाइएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु यादवले जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल यादवले भने सिद्धार्थले अहिलेसम्म कसैको नक्कल गरेको छैन । सिद्धार्थले गरेका शिक्षा निती र कार्यहरुको नक्कल अरु निजी विद्यालयले गर्दै आएको भने ।
सिद्धार्थ शिशु सदनले जनकपुरधामको गुणस्तरीय शिक्षाका लागि छुट्टै ऐतिहासिक पहिचान स्थापित गरिसकेको र सिद्धार्थबाट पढेका विद्यार्थीहरु अहिले देश विदेशमा नाम कमाई रहेको विद्यालयले जनाएको छ ।