अपडेट 
२०८० पुष ९, सोमबार ०७:१५

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजविराजमा निर्माण हुने भनिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम यथाशीघ्र अघि बढाउन आफूले सक्रिय पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

सवा दुई वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरेर पनि हालसम्म निर्माण कार्य सुरु नगरी अलपत्र अवस्थामा छाडिएको प्रतिष्ठानको निर्माण कार्य सुरु गर्न माग गर्दै आन्दोलनरत सप्तरी युथ नेपालका प्रतिनिधिहरुसंग आइतवार राजविराजमा कुराकानी गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका छन् । “सुरुमा जग्गा प्राप्तिमै धेरै समय लाग्यो, विभिन्न झमेलाहरु पनि भए, अध्यक्ष यादवले भने– ती सबै चुनौती पार गरेर अघि बढ्दा पनि विभिन्न कारणले प्रतिष्ठानको निर्माण कार्यले गति लिन पाएनन ।”

एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुस १६ गते मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । त्यति बेला अध्यक्ष यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । यसै क्षेत्रबाट जितेका कारण प्रतिष्ठान राजविराजमा स्थापना गर्न उनले ठूलै भूमिका खेलेका थिए । फलस्वरुप २०७८ साल जेष्ठ २१ गते मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलमा ६२ बिगहा जग्गा प्रतिष्ठानको नाममा उपलब्ध गराउनुका साथै २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट भर्चुअल माध्यमबाट शिलान्यास कार्यसमेत सम्पन्न गराइएको थियो । तर हालसम्म निर्माण कार्य भने अघि बढ्न सकेको छैन । हाल निर्वाचन क्षेत्र परिवर्तन गरी बारा पुगे पनि सप्तरीमा आपूmले सुरु गराएको योजनाहरु पूरा गराउन अहिले पनि पूर्ण प्रतिबद्धताका साथ लागि पर्ने सप्तरी युथ नेपालका प्रतिनिधि मण्डल समक्ष उनले प्रतिबद्धता जनाए ।

सो क्रममा पत्रकारहरुद्वारा पार्टीमा देखिएको आन्तरिक विवाद बारे. राखिएको जिज्ञासमा अध्यक्ष यादवले विवाद देखिनु सामान्य कुरा हो भन्दै त्यसलाई आपसी छलफलबाट टुग्याँइने जवाफ दिए । सप्तरी युथ नेपालको प्रतिनिधि मण्डलमा कार्यवाहक अध्यक्ष मोहन कुमार यादव, आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र कुमार यादव लगायतको सहभागिता रहेको जसपा सप्तरीको प्रचार प्रसार डेस्क प्रमुख उपेन्द्र प्रसाद साहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News