अपडेट 
२०८० पुष ९, सोमबार ०७:२५

कर्मचारीहरु कार्यालयमा नहुँदा भूमिसुधार तथा मालपोत कार्यालय धनुषामा कामका लागि आएका सेवाग्राहीहरु रित्तै हात फर्किन बाध्य हुने गरेका छन् ।

दैनिक जसो करिब दुई दर्जनभन्दा बढी सेवाग्रहीहरु अदालतको फैसलाद्वारा गरिने दाखिला, मिलमात्र, संशोधन लगायतका कामहरु लिएर आउने गरेका छन् । तर मालपोत कार्यालयमा कर्मचारी नहुँदा र भएका कर्मचारीले समेत आलटाल गर्दा एउटै कामका लागि महिनौ धाउनु परिहेको सेवाग्राहीहरु बताउँछन् ।

धनुषाका मिथिलाविहारी नगरपालिकाका सेवाग्राही नितिशराज यादवले अदालतबाट जग्गा रोक्काको लागि कागजजातसहित फाँटमा बुझाउन आउँदा समेत अर्को दिन आउन भनेर फर्काइदिएको दुःखेसो पोखे । मालपोत कार्यालयको मुद्दा शाखामा दुई जना मात्र कर्मचारी छन् । मुद्दा शाखामा विशेषज्ञ कर्मचारी नहुँदा कामको चाप बढिरहेकाले समस्या हुने गरेको छ । उनका अनुसार कार्यालयमा कामचलाउ कर्मचारी मात्र भएकोले काममा ढिलाइ हुने गरेको र मुद्दा शाखाको मात्र गुनासो आउने गरेको निमित्त प्रमुख सिंहबहादुर स्यांगबाले जानकारी दिए ।

कार्यालयका अधिकांश फाँटमा समयमा कर्मचारी नआउँदा सेवाग्राहीहरुको गुनासो रहने गरेको छ । सेवाग्राहीको समस्यालाई मध्यनगर गर्दै विशेषज्ञ कर्मचारीका लागि केन्द्रमा पत्राचार गरिसकेको निमित्त प्रमुख स्यांगबाले बताए ।

धनुषाको अत्यधिक भीडभाड हुने कार्यालयहरु मध्येमा भूमिसुधार तथा मालपोत कार्यालय धनुषा पनि हो । भएका कर्मचारीहरुसमेत समयमा नआउँदा र कर्मचारीको अभावमासमेत सेवाग्राहीहरुले सास्ती खेप्न बाध्य छन् ।

Comment


Related News

Latest News

Trending News