अपडेट 
२०८० पुष १०, मंगलवार ०७:३४

वर्तमान परिवेशमा नेपाल– भारत सम्बन्ध दुबै मुलुकको विकास, समृद्धि तथा सुरक्षाको आधारमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरिएको छ । यसका लागि नेपाल र भारत मिलेर बढ्नु पर्ने सुझावसमेत दिइएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित “राजविराज–कुनौली सीमा” विषयक अन्तर सम्वाद कार्यक्रमका वक्ताहरुले बर्षौदेखि कायम रहेको नेपाल–भारतबीचको सांस्कृतिक, सामाजिक र राजनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन र भइरहेका कमीकमजोरी सच्याउन आ–आफ्नो अनुभव र धारणासहित सुझाव दिएका छन् ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारतबीच विद्यमान जनस्तरको सम्बन्धलाई व्यापक र प्रगाढ बनाउने दिशामा सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले नागरिक स्तरमा आइपर्ने बाधा, अवरोध र विभिन्न खाले समस्या समाधानका लागि सीमावर्ती क्षेत्रमा साझा सहकार्यको पनि औचित्य बढेर गएको बताए ।

नेपाल–भारतबीचका व्यवसायिक, आर्थिक, सांस्कृतिक, सामाजिक लगायत विभिन्न सम्बन्धमा केही त्रुटि भए मिलेर समाधान खोजी सम्बन्धलाई थप उचाईमा पु¥याउनु पर्ने उनले जोड दिए । उनले सीमाञ्चल क्षेत्रमा अवस्थित राजविराजमा सक्रिय नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहको भूमिका अत्यन्तै गहन रहेको चर्चा गर्दै आगामी दिनहरुमा यसले दुई देशबीच कुनै समस्या आए समाधानका लागि थप भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे ।

भारतको कुनौली ब्लकका प्रमुख एवं नागरिक अगुवा अरबिन्द गुप्ताले दुई मुलुकको जनताको हित र चाहना बमोजिम नेपाल–भारत सम्बन्ध कायम हुनपर्छ भन्दै आपसी सम्बन्ध तथा कुटनीतिक पहलको आधारमा दुई मुलुकबीच देखिएका समस्याहरुको सम्बोधन हुनुपर्ने धारणा राखे । उनले तिलाठीस्थित राजविराज भन्सार कार्यालयको अगाडि रहेको भारतीय बजार कुनौली जोड्ने मार्गमा पुल नहुँदा दुबै देशका नागरिकले पीडा भोग्नु परिरहेको सुनाउँदै समस्या समाधानका लागि नेपाल–भारत मैत्री पुल निर्माण गर्न दुबै देशका नागरिकले आ– आफ्नो सरकारको ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता औल्याए ।

पूर्वमन्त्री उमेश कुमार यादवले दुबै मुलुकले एक अर्काको संवेदनशीलता बुझेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले चलाएको अभियानमा आफ्नो सदा साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

आयोजक संस्थाका अध्यक्ष गजेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वसांसद चन्द्रकान्त चौधरी, समूहका केन्द्रीय संयोजक राजीव झा, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, वरिष्ठ पत्रकार अनिलकुमार अनल, लोसपाका केन्द्रीय सदस्य दीपेन्द्र चौधरी, जसपाका जिल्ला अध्यक्ष केदार यादव, कांग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह, माओवादी केन्द्रका बिनोद कुमार यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझी, राजविराज नगरपालिकाका पूर्वमेयर शैलेश चौधरी, शम्भुप्रसाद यादव, महिला नेतृ साधना झा, रमिला साह, नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, सेभ द सप्तरीका अध्यक्ष ध्रुब देव लगायतले पनि खुल्ला सिमाना नेपाल–भारत सम्बन्धको विशिष्ट पक्ष रहेको चर्चा गर्दै यसबाट दुबै मुलुक थप लाभान्वित हुनुपर्नेमा जोड दिएका थिए ।

Comment


Related News

Latest News

Trending News