अपडेट 
२०८० पुष १०, मंगलवार ०७:३८

महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले उखु क्रसिङ सुरु गरेको छ । शुक्रबारदेखि सञ्चालनमा आएको एभरेष्टले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गरी दुई हजार २ सय क्विन्टल चिनी उत्पादन गरेको मिलको प्रशासन शाखाले जनाएको छ ।

एभरेष्टले मंसिर २५ गतेदेखि नै मिल सञ्चालनको तयारी गरेको थियो । तथापि मूल्य निर्धारणको विषयलाई लिएर उखु किसान आन्दोलनमा उत्रेका कारण निर्धारित समयमा मिल सञ्चालन हुन सकेको थिएन । सङ्घर्षरत किसानले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलन रोकेपछि करिब दुई साता ढिलो गरी क्रसिङ सुरु भएको छ ।

क्रसिङमा ढिलाइ हुँदा मिलगेटमा आइपुगेका करिब दुई हजार ५ सय क्विन्टल उखु सुकेर गएको एभरेष्ट चिनी मिलका महाप्रबन्धक सुरेन्द्र शुक्लाले दुखेसो पोखे । यस वर्षको क्रसिङ सिजन (२०८०–८१) मा न्यूनतम ३० लाख क्विन्टल उखु क्रसिङ गरी दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य रहेको महाप्रबन्धक शुक्लाले जनाए । यसमध्ये १८ लाख क्विन्टल उखु महोत्तरीबाट करिब १० लाख क्विन्टल सर्लाहीबाट तथा बाँकी उखु धनुषा, रौतहट र बारा जिल्लाबाट आपूर्ति गरिने उनले बताए ।

क्रसिङका लागि आवश्यक उखु मिल गेटमा २० लाख क्विन्टल र कारखाना परिसर बाहिर महोत्तरी र सर्लाहीका ग्रामीण भेगमा रहेका ३३ वटा खरिद केन्द्रमार्फत १० लाख क्विन्टल उखु आपूर्तिको व्यवस्था मिलाइएको एभरेष्टले जनाएको छ । यसका लागि खरिद केन्द्रहरूमा परिचालित प्राविधिज्ञ र कर्मचारीहरूले संम्वद्ध कृषकहरूलाई धमाधम चलान पुर्जी वितरण गरिरहेको उनले जनाए । “उखुको आपूर्ति पनि अपेक्षित ढङ्गमा भइरहेको छ,“ महाप्रबन्धक शुक्लाले भने । गत वर्ष एभरेष्टले क्रसिङ सिजन (०७९– ८०) २६ लाख ३० हजार ७४७ क्विन्टल उखु क्रसिङ गरी २ लाख ४२ हजार ३ क्विन्टल चिनी उत्पादन गरेको थियो ।

यस वर्ष उखुको उत्पादन र खेतीको क्षेत्रफल बढेकाले गत वर्षको तुलनामा ४ लाख क्विन्टल बढी उखु क्रसिङको लक्ष्य लिएको महाप्रबन्धक शुक्लाले बताए । यस वर्षदेखि उखु किसानलाई छिटोछरितो भुक्तानीको व्यवस्था मिलाएको दाबी गरिएको छ । यो व्यवस्थाले किसानमा उत्साह बढ्ने एभरेष्टको आङ्कलन छ । “किसानको सहुलियतका लागि उखु तौल गराएको ४ दिनभित्रै संम्वद्ध कृषकको खातामा भुक्तानीको व्यवस्था मिलाएका छौँ,“ महाप्रबन्धक शुक्लाले भने । गएको वर्ष पनि कारखानाले एक साताभित्र उखुको भुक्तानी गरेर किसानमा भरोसा जगाएको उनको आङ्कलन छ ।

चिनी मिल सञ्चालनमा आए पनि माग अनुसारको मूल्य नपाउँदा उखु किसान भने निराश देखिएका छन् । यो नैराश्यताको असर आगामी वर्षको उखु खेतीमा पर्ने उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले बताए ।

सरकारले गत वर्ष उखुको ५४० रुपैयाँमा २५ रुपैयाँ मात्रै थप गरी प्रति क्विन्टल ५६५ रुपैयाँ कायम गरेको छ । यो वृद्धिसँगै सरकारले दिने ७० रुपैयाँ समेत जोड्दा उखुको मूल्य प्रति क्विन्टल ६३५ रुपैयाँ कायम भएको छ । उखु किसानले भने बढ्दो महँगीका कारण उखुको मूल्य प्रति क्विन्टल ७५० रुपैयाँ माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका थिए । “सरकारले हचुवाको भरमा बढाएको मूल्यप्रति असन्तुष्ट किसानले आउँदो वर्षदेखि उखु खेती छाड्ने सम्भावना देखिएको छ,“ कुशवाहाले भने, “खेतमै सुकेर जाने कारण यो वर्ष किसानले बाध्यतावश चिनी मिललाई उखु दिएका हुन् ।“

एभरेष्ट चिनी मिलका प्रमुख उखु महाप्रबन्धक (क्यान म्यानेजर) बिके यादवकाअनुसार महोत्तरीका ८ हजार कृषकले यो वर्ष ७ हजार विग्हामा उखु खेती लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News