अपडेट 
२०८० पुष १४, शनिबार ०७:१७

संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न हेटौँडामा भेला भएका सातै प्रदेशका मुख्यमन्त्रीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटगरी साझा धारणा बुझाउने भएका छन् ।

सातै प्रदेशका मुख्यमन्त्रीको बैठकले संविधानमा भएको तहगत अधिकारको बारेमा साझा धारणा बुझाउने निर्णय गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बैठकले संविधानमा भएका प्रदेशको अधिकार सम्बन्धमा नौ बुँदे साझा सहमति बनाएको जानकारी दिए ।

उनले बैठकबाट निर्णयभएका साझा धारणा शनिवार बिहान ८ बजे प्रधानमन्त्री प्रचण्डलाई भेटर बुझाउने गरी कार्यक्रम तय भएको जानकारी दिए ।

सङ्घीय सरकारले विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन सन्तोषजनक नभएको बताउँदै सरकारलाई दवाव दिने र कार्यान्वयन नगरेमा आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

मधेश प्रदेश सरकारले विगतमा पटक पटक संघ सरकारलाई अधिकार प्रत्यायोजन गर्न आग्रह गरे पनि सरकार अटेर गर्दै आएको छ । प्रहरी समायोजन र निजामती कर्मचारी प्रदेश सरकार मातहतमा आउनुपर्ने माग गर्दै मधेश प्रदेश सरकार संघीय सरकारसंग माग गर्दै आएको छ । तर, विभिन्न बहाना बनाइ संघ सरकार सो अधिकार प्रत्यायोजन गर्न नचाहेको मधेश प्रदेश सरकारको निश्कर्ष छ ।

मधेश प्रदेश सरकारले आन्दोलनको चेतावनी दिँदा समेत संघीय सरकार नसुनेपछि मधेश प्रदेश सरकारकै पहलमा शुक्रबार हेटौडामा सातै प्रदेशका मुख्यमन्त्रीहरु भेला भएका थिए । सवै प्रदेशका मुख्यमन्त्रीको एउटै धारणा हुँदा समेत संघ सरकार अटेर गरेपछि आन्दोलनका कार्यक्रम तय हुने बैठकमा सहभागी मेधेश प्रदेशका मुख्यमन्त्री यादवले बताए ।

Comment


Related News

Latest News

Trending News