अपडेट 
२०८० पुष १४, शनिबार ०७:२९

जानकी महिला सञ्जाल धनुषामा पदाधिकारीसहित कार्यसमितिलाई बेवास्ता गर्दै दुईजना कर्मचारीले परियोजनाको खाता परिवर्तन गराउँदै कार्यालयका सम्पूर्ण डकुमेन्टहरु नियन्त्रणमा लिएको भन्दै संस्थापक अध्यक्ष मालती ठाकुरले आपत्तिजनक जनाएकी छन् ।

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै सञ्जालका कार्यक्रम संयोजक देवकुमार महतो र लेखाअधिकृत आलोक पटेलको मिलेमतोमा सञ्जालका पदाधिकारीलाई छलेर कार्यालयसहित परियोजनाको सम्पूर्ण कागजातपत्रहरुसमेत नियन्त्रणमा लिएर संस्थाको गरिमा र विधान विपरीत कार्य गरेको संस्थापक अध्यक्ष ठाकुरले बताइन् ।

महिलाहरुको विभिन्न ११ वटा संस्था मिलेर गठन गरिएको सञ्जाललाई विगतमा मित्र धनुषाले समेत छलेर तत्कालीन अध्यक्षले आफ्नो छोरासहितकालाई नियुक्त गरी ४६ लाख रुपैयाँको परियोजना नै हिनामिना गरेको आरोप उनले लगाइन् । उनले कार्यक्रम संयोजक महतोले सञ्जालको पदाधिकारीसहित कार्यसमितिलाई समाज कल्याणको कामकारबाही गर्नुपर्ने भन्दै कार्यालय तथा परियोजनाको सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिएको आरोप लगाइन् ।

उनले सञ्जालका अध्यक्ष रिना मण्डलसहितकाले जिल्ला प्रशासन कार्यालय धनुषामा दिएको उजुरी उपर कारवाही प्रक्रिया अघि बढाउनका लागि मागसमेत गरिन् । उनले महिलाहरुको सञ्जाललाई नै कब्जामा लिएर दुई जना कर्मचारीले रकम हिनामिना गर्न खोजेको प्रस्ट भएको बताइन् ।

सञ्जालका अध्यक्ष रिना मण्डल, सचिव सीमाकुमारी पण्डित र कोषाध्यक्ष लता लामालाई हटाइ नयाँ म्याइन्युट खडा गरी कार्यक्रम संयोजक महतो र लेखाअधिकृत पटेलले कार्यालय र खाता संचालनसम्बन्धी निर्णय गर्दै करिब एक लाख रुपैयाँ हिनामिना गर्न खोजेको आरोप लगाइन् ।

लुम्बिनी विकास बैंकमा रहेको खातामा अध्यक्ष र कोषाध्यक्षको नाम हटाएर कार्यक्रम संयोजक महतो र लेखाअधिकृत पटेलले आफ् नो नाममा संयुक्तरुपमा खाता खडा गरी ७७ हजार ४७२ रुपैयाँ र २२ हजार ४८६ रुपैयाँ गरी ९९ हजार ९५८ रुपैयाँको दुई वटा चेक बनाएर बैंकबाट निकाल्न खोज्दा सञ्जालकी अध्यक्षसहित पदाधिकारीहरुले बैंकका प्रबन्धक र जिल्ला प्रशासन कार्यालय धनुषालाई समेत सो खाताको रकम रोक्का गर्न भन्दै आरोपित कार्यक्रम संयोजक महतो र लेखाअधिकृत पटेलमाथि कारवाहीको समेत माग गरेको छ ।

महिला अधिकार मञ्च, महिला सेवा केन्द्र, दलित नारी समाज, दलित महिला उत्थान समाज, महिला संरक्षण मञ्च, धनुषा महिला समाज, प्रगतिशील नेपाल, क्षीरेश्वरनाथ महिला अधिकार संस्था, नारी विकास केन्द्र, मित्र धनुषालगायतका ११ वटा संस्था मिलेर लुज फोरमको रुपमा जानकी महिला सञ्जाल ०६४ सालमा गठन गरिएको थियो ।

सञ्जाल गठन भएपछि वैदेशिक दाताहरुले समेत दलित, महिला, बालबालिका केन्द्रित गरी परियोजनासहित रकम दिन थालेपछि महिला सञ्जालमा आवद्ध घटक संस्थाहरु बीच परियोजनाको रकमलाई लिएर कर्मचारीहरुले समेत अनियमितता गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News