अपडेट 
२०८० पुष १४, शनिबार ०७:३३

विश्व विख्यात् जानकी मन्दिर दुनियाकै हिन्दूहरुको पवित्र र पावन स्थल हो । जसको दर्शन गर्न देश विदेशबाट लाखौं श्रद्धालु आउँछन् र सीता रामको आशीष थापेर फर्किन्छन् । सन् १७०७ का मकवानी राजा इन्दुविधाता सेनले कुशविर्ता मार्फत दान दिएको १४०० विघा जग्गाको आयस्ताबाट राम र जानकी मन्दिरको व्यवस्थापन हुन्छ । भारत मध्यप्रदेशस्थित टिकमगढका महाराजा प्रतापनारायण सिंहकी महारानी वृषभानु कुंवरिले विसं १९६७ साल माघ २८ गते जानकी मन्दिर निर्माण गरेकी थिइन् ।

यस प्रकार झण्डै १२५ वर्षदेखि आधुनिक जानकी मन्दिरको व्यवस्थापन हुदै आएको छ । मैले आधुनिक जानकी मन्दिर भनि रहदा धेरैलाई अमिल्दो पनि लाग्न सक्ला तर यो तर्क संगत छ । कारण जानकी मन्दिरका आदि महन्त सुरदासकै पालामा मकवानी राजाले कुशविर्ता दिएका थिए अनि एउटा मन्दिरपनि निर्माण गर्न लगाएका थिए ।

त्यसको झण्डै दुई सयवर्ष पछिमात्र हालको जानकी मन्दिरको निर्माण भएको छ । सोझो भाषामा भनौ भने राम र जानकी मन्दिर संचालनका लागी मकवानी राजाले जग्गा दान दिए तथा टिकमगढकी महारानीले जानकी मन्दिर निर्माण गराई दिईन ।

मन्दिरका महन्तहरु पूजा पाठ गर्नका लागी नियुक्त गरिए । गुरु शिष्य परम्परा अनुसार महन्तहरु नियुक्त हुदै आए । यो क्रम अझै पनि जारी छ । जानकी मन्दिरलाई विश्व सम्पदासूचिमा सूचिकृत गराउन शुरुमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् , त्यसपछि भोर नामक गैर सरकारी संस्था र अहिले जनकपुरधाम उपमहानगरपालिका लविङ गरिरहेको अवस्था छ ।

मन्दिर सौन्दर्यीकरणको नाममा मधेश प्रदेश सरकार र वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले झण्डै २० करोड खर्च गरी सकेको छ । तात्पर्य मन्दिर व्यवस्थापनको लागी एउटा राजाले भूमिदान गरे । अर्को महाराजाले मन्दिर बनाई दिए । दुई संस्थाले विश्व सम्पदासूचिमा सूतिकृत गराउँन लविङ गरे अनि यो जानकी मन्दिर कस्को भयो ? अक्षुन्न अधिकारप्राप्त संघीय सरकारको ? वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् को ? जनकपुरधाम उपमहानगर पालिकाको ? मधेश प्रदेश सरकारको ? पुरातत्व विभागको ? भोर जस्ता गैरसरकारी संघ संस्थाहरुको ? जानकी मन्दिरका महन्तको ? वा सीता राममा अशीम आस्था राख्ने विश्वका करोडौ आस्थावान सनातन धर्माम्बलम्बीहरुको ?

सीता जन्मस्थली जनकपुरधाममा निर्मित जानकी मन्दिरप्रति अपनत्व वोध गर्नु, यो सम्पदा हाम्रै हो भन्ने दावी गर्नु अनुचित होईन । एउटा आम श्रद्धालुदेखि देशी विदेशी सरकारी निकाय र संघ संस्था यस पवित्र तथा विशाल सम्पदाप्रति अपनत्व देखाउन सक्छन् तर यसो भनि रहँदा जानकी मन्दिर कुनै निकाय ,व्यक्ति वा संस्था विशेषको एकल वर्चस्व कायम हुन सक्दैन ।

यो विश्वका करोडौ सनातन धर्माम्बलम्बीहरुको साझा आस्थाको केन्द्र हो । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक पर्यटनमा रुचि राख्ने तथा यस्ता संरचनाहरुको संरक्षण गर्न सघाउने संघ संस्थाहरुको पनि साझा सम्पदा हो । साझा संस्थाको व्यवस्थापनमा रुचि लिनु, राम्रा पक्षको समर्थन गर्नु अनि नराम्रा पक्षको विरोध गर्नु सबैको अधिकार हो । कारण यो सम्पदा सबैको साझा हो ।

महन्त, पुजारी वा साधु सन्तमात्रको होईन तर पछिल्लो पटक जानकी मन्दिरका दुई महन्तबीच जारी अन्तरसंघर्षले जानकी मन्दिर कुनै व्यक्ति विशेषको व्यक्तिगत सम्पति हो कि ? जस्तो छनक दिएको छ । उत्तराधिकारी महन्त जनवरी २२ मा अयोध्यामा हुने श्रीराम मन्दिर उद्घाटन समारोहमा भार लिएर जान खोज्दै छन् । मुख्य महन्त आफूलाई यस विषयमा कुनै जानकारी नभएको उद्घोष गर्दैछन् । जनकपुरवासी दुई कित्तामा विभाजित छन् । यसो हेर्दा जानकी मन्दिरमा अचेल दुई जना महन्तको शासनसत्ता छ । मुख्य महन्त रामतपेश्वर दास र उत्तराधिकारी महन्त रामरोशन दास । मनोज झापनि उत्तराधिकारी महन्त बनाइएको चर्चा छ ।

उत्तराधिकारी सम्बन्धी विवाद सम्मानित अदालतसम्म नै पुगी सकेको अवस्था छ । फेरी अचम्म त के पनि छ भने मुख्य महन्त रामतपेश्वर दास वैष्णवले नियुक्त गर्नु भएको दुवै उत्तराधिकारी उनका सम्वन्धित हुन् । अयोध्या भार पठाउँन तथा सहभागीहरुलाई त्यहाँसम्म लग्न लाखौं खर्च हुनु स्वाभाविक हो । यस प्रकारको खर्चलाई म व्यक्तिगत रुपमा अनुत्पादक मान्दिन तर जानकी मन्दिरभित्रै रहेको खाने पानीको एकमात्र श्रोत(चापाकल) वरिपरिको फोहर कस्ले सफा गरि दिने हो ? अयोध्या भाड पठाउन तथा विभिन्न मेला उत्सवमा लाखौं खर्च गर्न सक्ने जानकी मन्दिरका महन्तजीहरु चापाकलको साफ सफाई गर्न सक्नु हुन्न ? वर्ष भरि नेपाल र भारतमा मठ मन्दिरहरु चहारी रहनु हुने महन्तजीहरुले त्यहाँका मठ मन्दिरहरुको साफ सफाई हेर्नु भएको हो कि होईन ? मधेश प्रदेशका मुख्यमन्त्री लालबाबू राउत मुख्यमन्त्री स्वक्षता अभियान अन्तर्गत २०७५ मंसिर दोस्रो साता जानकी मन्दिर सौन्दर्यीकरण योजनाबाटै गरेका थिए ।

पहिलो चरणको सौन्दर्यीकरण योजना अन्तर्गत ८ करोड वजेट विनियोजन गरिए पनि ६ करोड ७५ लाखमा ठेक्का बन्दोवस्त भएको थियो । यस योजना अन्तर्गत मन्दिरको बाहिरी र भित्री परिसरमा टायल्स र मार्वल जडान, ढल निकास, विद्युतीकरण, प्रवेशद्वार निर्माण, कम्पाउण्ड वाल वरिपरि वृक्षारोपन गर्ने थियो । तीमध्ये केही काम सम्पन्न भएको छ केही हुन बाँकी छ । तर मेरो रुचिको विषय हो– आधुनिक संरचना निर्माणले विश्व सम्पदासूचिमा सूतिकृत गर्न बाधा त पर्दैन ? कारण युनेस्कोले मौलिक सम्पदामा छेडछाड गरेको सुइको पाउँने बित्तिकै बनेको काम पनि बिग्रन सक्ने संभावना हुन्छ ।

जानकी मन्दिर विश्वका सम्पूर्ण सनातन धर्माम्बलम्बीहरुको आस्थाको केन्द्र हो । यस्ता सार्वजनिक सरोकारका विषयहरुमा संरचना निर्माण गर्नु पर्दा पुरातत्वविद्, स्थानीयवासी तथा सरोकारवालाहरुसंग सल्लाह गरेरमात्र गर्नु पर्दछ । मुख्य महन्तजीले उत्तराधिकारी नियुक्त गर्दा पनि नागरिक समाजसंग सल्लाह गर्नु उचित हुने छ ।

Comment


Related News

Latest News

Trending News