अपडेट 
२०८० पुष १५, आईतवार ०८:२२

मिथिला समाजको भाषा संस्कृति तथा उद्यमको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा दुई दिने सखी बहिनपा मिथिलानी समूहको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

‘गाम गाम नगर नगर गली गली, मैथिली संग हमसभ अनवरत रही’ मूल नाराका साथ जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला साँस्कृतिक केन्द्रमा आयोजना गरिएको उक्त सम्मेलनमा नेपाल, भारत, तथा दुबईबाट सखी बहिनपामा आबद्ध महिलाहरूको सहभागिता रहेको छ ।

सम्मेलनमा महिलाहरूमा भएको ज्ञान, सीप तथा कलाको माध्यमले वस्तुको उत्पादन तथा बजारीकरण गरी आत्मनिर्भर बनाउने विषयमा परामर्श गरिने आयोजक संस्था सखी बहिनपा मिथिलानी समूहकी अध्यक्ष आरती झाले बताइन् ।

सम्मेलनमा महिला सशक्तीकरणका विभिन्न विषयहरूमा कार्यपत्र प्रस्तुत गरेर त्यसमाथि छलफल तथा संवाद गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा महिला समूहले मिथिला पेन्टिङमा ख्याती कमाउन सफल मिथिलेश्वरी कर्ण, गायिका शान्ति सदा तथा वरिष्ठ साहित्यकार हिमांशु चौधरीलाई दोसल्लासहित सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।

दुई दिन सम्म चल्ने सो सम्मेलनको पहिलो दिन प्रभातफेरी, सम्मान कार्यक्रम, विमर्ष, विभिन्न इकाइहरु संग सखीहरुको प्रस्तुती, पमरिया, मिथिला नाट्यकला परिषद्को प्रस्तुती सम्पन्न भयो भने दोस्रो दिन महिला कवि गोष्ठी र सांस्कृतिक कार्यक्रम गरी सम्पन्न हुने जनाइएको छ ।

महासम्मेलनमा घर घरमा महिलाहरूले उत्पादन गर्ने गरेको अदौरी, तिलौरी, चनौरी, पापड, पिठौरी, दनौरी, अरिकोच तथा विभिन्न प्रकारका अचारहरू प्रदर्शनमा राखिएको छ ।

त्यस्तै, नेपाल तथा भारतका विभिन्न भूभागबाट आएका महिलाहरूले मिथिलाको साँस्कृतिक वेषभूषा तथा पहिरनसमेत प्रदर्शनमा राखिएको छ ।

महासम्मेलनमा मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडि, अधिवक्ता श्याम कुमार मिश्र लगायतका वक्ताहरुले मिथिलाको संस्कृति र परम्परालाई संरक्षण सम्वद्र्धनकालागि सखी बहिनपाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

Comment


Related News

Latest News

Trending News