अपडेट 
२०८० पुष १५, आईतवार ०८:२६

मन्त्रालयमा मन्त्री छन्, सचिवदेखि अन्य कर्मचारीहरू छन् तर एक सुको बजेट छैन । जहाँ मन्त्री चढ्ने गाडीको इन्धनदेखि मन्त्रालयको दैनिक खर्च हुने चियापानी पनि उधारोमा हुन्छ । सुन्दा पत्यार नलाग्न सक्छ । तर यो वास्तविकता हो मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको ।

बिनाविभागीय मन्त्री सुरिता साहलाई व्यवस्थापन गर्न मुख्मन्त्री सरोज कुमार यादवले तत्कालीन शिक्षा तथा समाज कल्यण मन्त्रालयलाई टुक्रयाए शिक्षा तथा साँस्कृतिक मन्त्रालय र खेलकुद तथा समाज कल्यण मन्त्रालय बनाए ।

सत्तारुढ गठबन्धन दलको भागवण्डमा सो मन्त्रालय जनमत पार्टीको भागमा प¥यो । तर झण्डै दुई महिना बिनाबिभागीय मन्त्री रहेकी साहलाई मुख्यमन्त्री यादवले व्यवस्थापन गर्न जनमत पार्टीका नेता महेश प्रसाद यादवले सम्हालेको तत्कालीन शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई टुक्रयाए । मन्त्रालय टुक्रयाएलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुवै मन्त्रालयको कार्यविभाजन पनि पठायो । तर मन्त्रालय टुक्रयाएको झण्डै चार महिना हुन लाग्दा पनि अहिलेसम्म ती मन्त्रालयको खातासमेत खुल्न सकेको छैन ।

न दरबन्दीअनुसारका कर्मचारी नै छन् । मन्त्रालयका सचिव चुडामणि फुयाँलले भने, ‘कर्मचारीको समस्या त सबै मन्त्रालयमा छ तर यहाँ त अहिलेसम्म एक सुको बजेट पनि छैन । बजेट आएपछि त्योअनुसार कार्यहरू अगाडि बढाइन्छ । अहिले भएका कर्मचारीहरूलाई पनि कुनै काम छैन । बजेट कार्यान्वयनको बेलामा हामी सामाजिक विकास इकाइको निर्देशिका बनाईरहेका छौँ । तर बजेट कहिले आउने अहिलेसम्म ठेगान छैन, फेरि ढिलो गरी आए कार्यान्वय कसरी हुन्छ ? महिला बालबालिका तथा समाज कल्यणको क्षेत्रमा दातृ निकायबाट हुने काम पनि प्रभावित भएको मन्त्रालयका एक कर्मचारीले बताए । उनले भने, ‘चालु आर्थिक वर्षको ६ महिना पुग्न लाग्यो । यस्तै अन्योलमा रह्यो भने खेलकुद मन्त्रालयको धेरै कार्यक्रम नै गर्न नसकेर बजेट नै फ्रिज हुन सक्छ ।’ यी दुई मन्त्रालयमा दुई पार्टीका मन्त्रीहरू छन्, त्यसकारण यसमा राजनीतिक द्वन्द्व देखिएको उनको भनाइ छ । उनले भने,‘ यस विषयमा मुख्यमन्त्रीले पहल गर्नु आवश्यक छ ।’ मन्त्रालयमा व्यवस्थापन गरेको कार्पेट, कुर्सी टेबुल, फर्निचर, पर्दा लगायतको सामान उधारो नै ल्याइएको सचिव फुयाँलले बताए ।

मन्त्रालयको आफ्नै खाता सञ्चालन भएको छैन र बजेट चलाउने पीएलएमबीएस कोड पनि अर्थ मन्त्रालय र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबाट उपलब्ध हुन सकेको छैन । खेलकुद तथा समाज कल्याण मन्त्रालयमा आनुपर्ने महिला बालबालिका तथा समाज कल्यण महाशाखका केही कर्मचारी अझै पनि शिक्षा तथा साँस्कृतिक मन्त्रालयमै रहेका छन् । स्रोतका अनुसार शिक्षा तथा साँस्कृतिकमन्त्री महेश प्रसाद यादवले ती कर्मचारीहरूको रमना नदिन सचिव लक्ष्मी भट्टराईलाई दबाब दिइरहेका छन् । मुख्यमन्त्री यादवले मन्त्रालय टुक्रयाएदेखि मन्त्री यादव असन्तुष्ट छन् ।

त्यही असन्तुष्टिका कारण मन्त्री यादवले अहिलेसम्म खेलकुद तथा समाज कल्यण मन्त्रालयको भागमा परेका योजना तथा कार्यक्रमहरू हस्तान्तरण गर्न ढिलाइ गरिरहेको स्रोतले बतायो । खेलकुद तथा महिला बालबालिका, युवा तथा समाज कल्याणतर्फको बजेट पनि अर्थ मन्त्रालयले अहिलेसम्म खेलकुद तथा समाज कल्यण मन्त्रालयमा पठाएको छैन ।

यता, शिक्षा तथा साँस्कृतिक मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले मन्त्रालय विभाजन र कार्यक्षेत्र विवादको कारण समस्या भएको बताए । उनले मन्त्रालयहरूको कार्य विभाजन तथा कार्य क्षेत्र राजनीतिक मुद्दा भएकोले त्यसमा आपूmले केही भन्न नसक्ने बताए । एक वर्षअघि सामाजिक विकास मन्त्रालय टुक्रयाएर शिक्षा तथा समाज कल्याण मन्त्रालय बनाइएको थियो ।

त्यसपछि ७ औँपटक मुख्यमन्त्री यादवले सरकार विस्तार गर्दा शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई टुक्राएर थप खेलकुद तथा समाजकल्याण मन्त्रालय बनाएका थिए ।

यता, बजेटका लागि पटक–पटक ताकेता गर्दा केही दिनअघि अर्थ मन्त्रालयले मन्त्रालयको व्यवस्थापनका लागि पहिलो चरणमा २ करोड रुपैयाँ मन्त्रालयको नाममा विनियोजन गरे पनि मन्त्रालयको आर्थिक कारोबार गर्ने कोड उपलब्ध नगराउँदा सो रकम पनि निकासा हुन नसकेको खेलकुद तथा समाज कल्याणमन्त्री साहले बताइन् । ‘तत्कालीन शिक्षा तथा समाज कल्याण मन्त्रालय टुक्राएर दुई नयाँ मन्त्रालय बनाइयो’, मन्त्री साहले भनिन्, ‘ अब शिक्षा तथा समाज कल्याण मन्त्रालय रहेनन्, यस्तो अवस्थामा खेलकुद मन्त्रालयको आर्थिक कारोबार गर्न नयाँ कोड चाहिन्छ । तर शिक्षा तथा साँस्कृतिक मन्त्रालयले नयाँ कोड नै नलिई तत्कालीन शिक्षा तथा समाज कल्यण मन्त्रालयको कोडले काम गरेर आर्थिक शुसानलाई खिल्ली उडाइरहेको छ ।’

गत वर्ष मंसिरको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र हैसियतमा जितेर जसपा प्रवेश गरेकी सुरितालाई मुख्यमन्त्री यादवले सुरुमा सामाजिक विकास मन्त्री बनाएका थिए । त्यसपछि कांग्रेसलाई सरकारमा सामेल गराउँदा मन्त्री साह बिना विभागीय मन्त्री भएकी थिइन् ।

शिक्षा तथा साँस्कृतिकमन्त्री यादव भने खेलकुद मन्त्रालयले प्रक्रिया पूरा गरेर शाखा आफू मातहत लान सक्ने बताए । ‘टिप्पणी उठाएर सम्बन्धित मन्त्रालयबाट पत्र आउनुप¥यो नि, हाम्रो यो यो कुरा छ पठाइदिनुप¥यो भनेर । तर अहिलेसम्म आएको छैन’, मन्त्री यादवले भने ।

दुई मन्त्रालयबीच अधिकार क्षेत्रको विवाद हुनुको मुख्य कारण मन्त्रीका दलहरू जसपा र जनमतबीचको द्वन्द्व रहेको कर्मचारीहरूको भनाइ छ । राजनीतिक द्वन्द्वले नै यस्तो परिस्थिति आएकोले यसको समाधान मुख्यमन्त्रीले नै गर्नुपर्ने उनीहरू बताउँछन् ।

Comment


Related News

Latest News

Trending News