अपडेट 
२०८० पुष १६, सोमबार ०७:४४

सत्तारुढ नेपाली कांग्रेस मधेश प्रदेश समितिले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम आइतवार सिफारिस गरेको छ ।

कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्ण यादवले वरिष्ठता, कार्यक्षमता, समावेशी समानुपातिकको आधारमा नाम सिफारिस गरिएको बताएका छन् । प्राथमिकताका अनुसार ७ जना नेताको नाम कांग्रेस केन्द्रीय समितिमा पठाइएको मधेश प्रदेशका भौतिक विकास पूर्वाधारमन्त्रीसमेत रहेका सभापति यादवले बताए । ‘वरिष्ठताका आधारमा सम्भावित सूचीको पहिलो नम्बरमा नै केन्द्रीय सदस्यसमेत रहेका अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानालाई राखिएको छ ’ सभापति यादवले भने, समानुपातिकतर्फको बन्द सूचीबाट उनको नाम फिर्ता लिएको छ । दोश्रो नम्बरमा सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम रहेको छ ।

गत निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यको प्रत्याशी थिए । त्यसपछि क्रमशः सर्लाहीबाट नागेन्द्रकुमार, बाराबाट राधेचन्द्र यादव, महोत्तरीबाट रामचन्द्र तिवारी, पर्साबाट रजिन्द्रबहादुर अमात्य र रौतहटबाट हृदयनारायण यादवको नाम राष्ट्रियसभा सदस्यको निर्वाचनको आकांक्षी उम्मेदवारका लागि टुंगो लगाउन कांग्रेसको केन्द्रीय समितिमा सिफारिस गरिएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेसले सात वटै प्रदेशबाट नाम संकलन गरेको छ । राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ जना राष्ट्रियसभा सदस्यका लागि पुस २३ गते उम्मेदवारले आफ्नो नाम दर्ता गराउनुपर्ने छ ।

एकजनालाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था रहेको छ । कांग्रेस बाहेक अन्य दलले भने अहिलेसम्म पनि उम्मेदवारको नाम टुंगो लगाएर केन्द्रीय समितिमा सिफारिस गर्न सकेको छैन ।

मधेश प्रदेशमा राष्ट्रिय सभाको २ जना सदस्यको पद रिक्त भएको छ ।रिक्त भएका पदहरु मध्ये जनता समाजवादी पाटीं(जसपा)को एकजना रहेका छन् ।सत्तारुढ गठबन्धन दलहरुमा भएको सहमति अनुसार रिक्त भएको सिटमा सम्बन्धित दलले नै उम्मेदवार उठाउने छन् ।एमालेको रिक्त स्थान भने बाँडफाँटमा सहमति हुन बाँकी छ ।

Comment


Related News

Latest News

Trending News