२०८० पुष १८, बुधबार १५:३६

अमेरिकाबाट पार्सल गरी पठाइएको गाँजासहित ३ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो विदेशबाट आएको लागूऔषध डेलिभरी हुँदैछ भन्ने विशेष सूचनाका आधार लागूऔषध ब्युरो वीरगन्ज र जिल्ला प्रहरी कार्यालय बाराको टोलीले जिल्ला हुलाक कार्यालय बारा नजिकैबाट विदेशबाट आएको कार्टुनसहित ३ जनालाई पक्राउ गरेको छ।

बारा प्रहरीका प्रवक्ता डीएसपी दधिराम न्यौपानेका अनुसार कलैया उपमहानगरपालिका–१ मोतिबागस्थित हुलाक कार्यालय अगाडिबाट विदेशबाट आएको कार्टुनसहित वीरगन्ज महानगरपालिका–१ सिसौवारी निवासी २२ वर्षीय नैमोदिन मियाँ, २७ वर्षीय जितेन्द्र साह र २२ वर्षीय कृष्णा सर्राफलाई पक्राउ गरिएको छ ।

विदेशबाट आएको कार्टुनमा पोपर्कन मिक्स ट्रियो लेखिएको रातो रंगको टिनको डब्बाभित्र तीन प्याकेट गाँजा, ओल्ड फेसन्ड ओट्स लेखिएको डब्बाभित्र एक प्याकेट गाँजा र क्युक ओट्स लेखिएको डब्बाभित्र एक प्याकेट गरी १ किलो १४६ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

तीन जनामाथि लागूऔषध कसुरमा मुद्दा दर्ता गरी बारा अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता न्यौपानेले जनाए ।

Comment

Related News

Latest News

Trending News