अपडेट 
२०८० पुष २२, आईतवार ०७:४३

सप्तरी प्रहरीले बालुवा बोक्ने टिपरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–७ कल्याणपुरस्थित गोप्य सूचनाको आधारमा प्रहरीले वालुवा बोक्ने टिपरलाई चेकजाँच गर्दा १ हजार ६ किलो गाँजा बरामद गरेको छ । वालुवा गिट्टी बोक्ने को.१ ख. ५८३१ नम्बरको आइचर टिपर गाडीलाई रोकेर चेकजाँच गर्दा बालुवा भित्र २८ वटा बोरामा लुकाइ राखिएको अवस्थामा १ हजार ६ किलो गाँजा बरामद भएको सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

यस अघि प्रदेश प्रहरीले एम्बुलेन्स, पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्रयंकरबाट पनि भारी मात्रमा तस्करीका गाँजा बरामद गरेका थिए ।

मधेश प्रदेश प्रहरीका अनुसार चालु आर्थिक वर्षको मंसिर सम्ममा प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानबाट गाँजा २ हजार ६ सय ४१ किलो, ब्राउन सुगर ५ सय ४३ ग्राम, चरेस ४७ किलो ८ सय ग्राम, हिरोईन ८९ ग्राम र लागू औषधामा प्रयोग गरिने ट्याबलेट १७ हजार २ सय ३९ बरामद भएको छ । गाँजा तस्करीसहितका लागू औषध कारोबारमा ४ सय ३७ जना पक्राउ परेको र ३ सय ८ वटा मुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा मधेश प्रहरीले २ हजार ८ सय ४ किलो, १९ हजार ३ सय ३५ ग्राम ८ सय १० मिलिग्राम गाँजा बरामद गरेको थियो ।

यसमा संलग्न १ हजार ३२ जना पक्राउ परेका थिए भने ७ सय ४७ वटा मुद्दा दर्ता भएको थियो ।

Comment


Related News

Latest News

Trending News