अपडेट 
२०८० पुष २२, आईतवार ०७:५०

भारतको अयोध्यामा निर्मित राम मन्दिरका लागि जनकपुरधामबाट लगिएको भार शनिबार हस्तान्तरण गरिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले राम जन्मभूमि ट्रष्टका महासचिव चम्पत रायलाई भार हस्तान्तरण गरेका छन् ।

जनकपुरधामको जानकी मन्दिर परिसरबाट बिहीबार लगिएको भारमा सुनचाँदीका गरगहना, फलफूल, पान–मखान, कपडा, मिठाइका अनेक ब्यञ्जन, चाँदीकै थाल–बटुको, श्रृगारका सामग्री र फर्निचरलगायतका समान छन् । बाँसले बनाइएको चंगेरा (भाँडो) लाई रातो रंगले रंग्याएर रातो र पहेलो कपडाले भार छोपिएको थियो ।

भार हस्तान्तरण समारोहमा जनकपुरधाम उपमहानगरका प्रमुख मनोज साहले एउटा घरलाई चाहिने लगभग सबै सामग्री भारमा लिएर आएको बताए । ‘हाम्री जनकपुरधामकी छोरी सीताको ससुराली हो आयोध्या । उनको नयाँ घर (राम मन्दिर) बनेको छ, त्यो घरमा चाहिने सबै समान अर्पण गरेका छौं ।’ रामको ससुराली जनकपुरबाट गएको भार ग्रहण गर्दै ट्रष्टका महासचिव रायले खुशी व्यक्त गरे । ‘माता सीताको माइतीबाट आएको भार अद्भूत छ । यसले हामीलाई हर्ष प्रदान गरेको छ,’ उनले भने । फूलमालाले सजाइएका दुईवटा ट्रकमा भार लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ दाससहित जनकपुरका करिब ५ सय भन्दा बढी सर्वसाधारण बिहीबार अयोध्या प्रस्थान गरेका थिए । लामो विवादपछि आयोध्यामा निर्माण गरिएको राम मन्दिरमा जनवरी २२ मा प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ ।

त्रेतायुगमा राम र सीताको विवाह हुँदा यसैगरी सयौं थरि भार अयोध्या पठाइएको थियो । ट्रक, बस र जिप–कारमा भार बोकेर अयोध्या प्रस्थान गरेका जनकपुरबासीलाई भने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, कांग्रेसका नेता बिमलेन्द्र निधि र जानकी मन्दिरमा महन्थ रामतपेश्वर दासले बिदाई गरेका थिए ।

मुख्यमन्त्री यादवले हातमा भार बोकेर जनकपुरधामको बिभिन्न भागको परिक्रमा गर्दै उनीहरुलाई बिदाई गरेका थिए । ‘माता सीताले ससुरालीमा नयाँ घर पाउनुभएको छ । हामी माइती पक्षका लागि यो सुखद खबर हो,’ मुख्यमन्त्री यादवले भने,‘त्यो नयाँ घरमा कुनै समानको अभाव नहोस भनेर ससुराली जनकपुरधामबाट भार पठाइएको छ ।’ सीताको माइती जनकपुरधामबाट उनको ससुराली अयोध्या पठाइएको भार करिव ५ सयभन्दा बढी थरिको रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । उनले भारमा जनकपुरधामवासी सबैको भावना समेटिएको बताए । ‘राम मन्दिर ट्रष्टबाट प्राणप्रतिष्ठामा सहभागी हुन आमन्त्रण गरेको छ ।

जनकपुरधाम रामको ससुराली हो । खाली हात जाने कुरै भएन । त्यसैले एउटा घरमा चाहिने लगभग सबै समान लिएर अयोध्या पुगेर हस्तान्तरण गरेका छौं,’ उनले भने, ‘हामीलाई बाटोभरि सर्वसाधारणबाट थप भार प्राप्त भएको थियो । ठाउँ–ठाउँमा हामीलाई हर्षउल्लासपूर्वक स्वागत गरिएको थियो ।’ भारका आकर्षण चाँदीले बनाइएको तीर–धनुष र खराम हो ।

सुनचाँदीका करिब दुईदर्जन आभूषण भारमा छ । जनकपुरधाम सुनचाँदी व्यवसायी संघको पहलमा गरगहना जुटाइएको हो । अभूषणमा तिलहरी, पोते, अंगुठी, पाउजु, मंगलसुत्र, चाँदीको थाल, गिलास, बटुको, मग, चम्चा, पुजा गर्ने भाँडाबर्तन भारमा समेटिएको छ । यस्तै, फलफूलमा स्याउ, सुनतला, केरा, नरिवल छ ।

मिथिला खानाको ब्यञ्जन पनि कोसेलीमा लगिएको छ । ठकुवा, खजुरी, पेरुकिया, पान र मखानसँगै अनेक प्रकारका कपडा र फर्निचरका सामग्री कोसेली पठाइएको हो । जनकपुरधामबाट हुलाकी राजमार्ग हुँदै बिहीबार राति वीरगञ्जमा बिश्राम गरेर शुक्रबार आयोध्या पुगेका टोलीले शनिबार राम मन्दिर ट्रष्टलाई भार हस्तान्तरण गरेको उत्तराधिकारी महन्त रामरोशनले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News