अपडेट 
२०८० पुष २२, आईतवार १५:४१

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

उम्मेदवारले सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सक्ने र यसका लागि आवश्यक सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि आगामी फागुन २० गते सकिने र पद रिक्त हुनुभन्दा ३५ दिन पहिले नै निर्वाचन गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । रिक्त हुने २० स्थान मध्ये १९ स्थानमा माघ ११ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता हुदैछ । राष्ट्रिय सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, नियमावली र निर्देशिका बमोजिम आवश्यक कागजात पेश गर्नुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचनमा प्रदेश सभा सदस्य र नगरपालिका एवं गाउँपालिका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष सहितको निर्वाचक मण्डल मतदाता हुने छन्, प्रदेश सभा सदस्यको मतभार ५३ रहेको छ भने पालिकाका प्रमुख उप प्रमुखको मतभार १९ रहेको छ ।

मतभार कायम गर्दा पछिल्लो जनगणना अनुसारको कुल जनसङ्ख्यालाई आधार मानी मतभार कायम गर्नुपर्ने व्यवस्था अनुसार २०७८ को जनगणनाका आधारमा मतदाताको मतभार बढेको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

स्थायी सदनको रुपमा रहेको राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित र १ जना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक सहित ८ जना गरी ५६ जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने १ महिला सहित ३ जना गरी ५९ जना सदस्य रहने र कार्यकाल ६ वर्ष हुनेछ ।

Comment


Related News

Latest News

Trending News