अपडेट 
२०८० पुष २३, सोमबार ०८:१०

बरहथवा घटनामा आन्दोलनरत पक्षको माग सम्बोधन हुने सहमति भएुसंगै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।

अस्पतालका विषयमा विवाद हुँदा प्रहरीले चलाएको गोलीबाट स्थानीय जयशंकर साहको मृत्यु भएपछि विगत दुई दिनदेखि तनावग्रस्त वनेको बरहथवामा स्थानीय र प्रशासनबीच भएको सहमतिपछि आन्दोलन स्थगित गरिएको छ ।

विगत दुई दिन देखि शव सडकमै राखेर आन्दोलन गरिरहेका स्थानीय तथा पीडितहरु सहमतिपछि मृत्यु भएका साहको शव उठाउन सहमत भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सर्वदलीय–सर्वपक्षीय छलफलपछि बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, स्तरोन्नति गरेर ५० शैय् याको बनाउने, सो अस्पताललाई प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको जनाइएको छ ।

आइतबार साँझ मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पनाकुमारी कटुवाल, सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलनरत र पीडित पक्षबीच सहमति भएको छ ।

नगरप्रमुख कटुवालले सो अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय उल्ट्याउन कार्यपालिकाको बैठक बोलाएको विरोधमा प्रदर्शन हुँदा भएको झडपमा प्रहरीको गोली लागेर शुक्रबार बरहथवा नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय साहको मृत्यु भएको थियो । उनको मृत्यु भएपछि झन् उग्र बनेका आन्दोलनरत प्रदर्शनकारीले साहको शव सडकमै राखेर प्रदर्शन गर्दै आएका थिए ।

शनिबार दिनभर प्रदर्शन रोक्ने प्रयास भए पनि स्थानीय प्रशासन विफल भएको थियो । शुक्रबार बेलुका कर्फ्यु लगाएको स्थानीय प्रशासनले शनिबार खुला गरेपनि आइतबार फेरि कर्फ्यु जारी गर्न बाध्य भएको थियो । यस घटनामा छानविन गर्न केन्द्र सरकारले ३ सदस्यीय छानविन समितिसमेत बनाएको छ भने यस अघि सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।

Comment


Related News

Latest News

Trending News