अपडेट 
२०८० पुष २४, मंगलवार ०७:५६

मधेश प्रदेश सरकारले प्रदेशका ८ वटै जिल्लामा २० हजार कम्बल वितरण गर्ने भएको छ । मंसिरको अन्तिम सातादेखि मधेश प्रदेशका जिल्लाहरुमा हुस्सु र दिउँसो चल्ने हावाले चिसो बढेपछि मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता मोहम्मद समिमको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको वैठकले गरिब, विपन्न तथा असहायलाई कम्बल वितरण गर्ने निर्णय गरेको छ ।

मन्त्री समिमले जाडो याममा हुनसक्ने विपद्लाई मध्यनजर गर्दै आवश्यक तयारीका लागि विभिन्न सरोकारवाला निकायसँग छलफल गरी विपद् जोखिम न्यूनीकरणका लागि न्यानो कपडा वितरणदेखि हुस्सुको कारण हाइवेमा हुने सडक दुर्घटना रोक्न सम्मको योजना बनाएका छन् ।

प्रदेशका ८ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय मातहत रहेका जिल्ला विपद् व्यवस्थापन समिति मार्फत २० हजार कम्बल वितरण गरिने मन्त्री समिमले बताए । उक्त कम्बल नेपाली सेनाबाट जि टु जि प्रक्रिया मार्फत खरिद गरिएको मन्त्रालयले जनाएको छ । जाडोबाट प्रभावित हुने गरिव विपन्न वर्गमा राहतका लागि न्यानो कपडा, कम्बल, तथा डिभिजन वन कार्यालयसँग समन्वय गरी दाउरा वितरण लगायतका कार्यहरु भइरहेको मन्त्री समिमले बताए । चिसोमा लाग्ने हुस्सुको कारण हाइवेहरुमा सवारी दुर्घटना बढ्ने भएकोले सवारी साधनको निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिएको उनले बताए । त्यसैगरि चिसो छल्न खास गरी ग्रामीण क्षेत्रमा लगाइने घुरले पनि आगलागी लगायतका घटनाहरु विगतमा हुने गरेकाले त्यसलाई न्यूनीकरणका लागि सर्वसाधारणमा जनचेतना जगाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने मन्त्री समिमले जानकारी दिए । चिसोबाट हुनसक्ने क्षतिको विषयमा सर्वसाधारणलाई जनचेतना जगाउने, विपद् व्यस्थापन तथा जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा गैर सरकारी संघसँस्थासँग समन्वय गरेर आवश्यकता अनुसार थप कार्यक्रम गर्न सरकार गम्भीर रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News