अपडेट 
२०८० पुष २९, आईतवार ०७:५१

बचतकर्ता संख्या बढाउन विभिन्न लोभ लाग्दो योजना ल्याएको एक बैंकले ७ महिना भन्दा बढी भइसक्दा पनि प्रतिबद्धता अनुसारको रकम भुक्तानी नगरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

राजविराज ७ का शारीरिक रुपले असक्त ४७ वर्षीय उमाकान्त साहले यहाँस्थित एनआइसी एशिया बैंकले बचत योजनाको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आफूले पाउनुपर्ने रकम दिन बैंकले विभिन्न बहाना देखाइ आलटाल गरिरहेको गुनासो गरेका छन् । स्वास्थ्यमा समस्या भएका बेला उपचार गराउन मद्दत पुग्ने आसमा १० महिना अघि सो बैंकको राजविराज शाखामा १ लाख रुपैयाँ जम्मा गरी उनले स्वास्थ्य बीमा लाभ पाउने गरी डायमण्ड बचत खाता खोलेका थिए ।

उक्त बचत योजना अन्तर्गत खाताधारीलाई बिरामी पर्दा अस्पताल भर्ना खर्च दाबी गर्न सकिने सुविधा रहेको जनाइएको थियो । साह ७ महिनाअघि गम्भीर बिरामी परे । उनको विर्तामोडस्थित बिराट हस्पिटल एण्ड रिसर्च सेन्टरमा आन्द्रा तथा मलद्वारको शल्यक्रिया गरिएको थियो । उनी अहिले पनि महिनैपिच्छे परीक्षणका लागि त्यहाँ जाने गरेका छन् । साहले उपचारको क्रममा भएको खर्च ५८ हजार ५ सय ५५ रुपैयाँको बिलसहित आवश्यक सम्पूर्ण कागजात बैंकलाई बुझाएको ७ महिना बितिसकेको छ । तर, हालसम्म एक सुको पनि नपाएको उनको गुनासो छ । “सात महिनादेखि उपचार खर्च वापतको भुक्तानीका लागि बैंक कुदेको कुँदै छु, साहले भने, “तर, प्रवन्धक ईश्वर यादवले प्रक्रियामै छ भन्दै फर्काइदिने गरेका छन् ।”

शारीरिक रुपमा असक्त भएकाहरुको अधिकार बारे पैरवी गर्दै आएका जगदीश प्रसाद अर्यालले बैंकको यस्तो व्यवहार उचित नभएको बताउछन् । भ्रामक प्रचार प्रसार वा विज्ञापन जारी गरी अनुचित लाभ लिने प्रयासको समयमै छानबिन हुनु जरुरी छ, उनले भने । पहुँच र भनसुनका आधारमा एकाधले उक्त बचत योजनाको लाभ पाए पनि धेरैजसो बचतकर्ता पत्यार लाग्दो पर्खाईमा रहेको बुझिएको छ ।

प्रवन्धक यादवले डायमण्ड बचत योजना अन्तर्गत साहले पाउनुपर्ने उपचार खर्चकालागि सम्पूर्ण कागजात बैंकको केन्द्रीय कार्यालयमा पठाइसकिएको र भुक्तानीका लागि आफूले पहल गरिरहेको जनाएका छन् । “यताबाट गर्नुपर्ने सबै काम पूरा गरेर केन्द्रमा पठाइसकेका छौं, प्रवन्धक यादवले भने, बैंकले सम्झौता गरेको वीमा कम्पनीका कारण ढिलाइ हुन गएको होला जस्तो लागेको छ ।” सो योजना अन्तर्गत बैंकले प्रोडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड सँग सम्झौता गरेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News