अपडेट 
२०८० माघ १, सोमबार १३:३३

काठमाण्डौमा आजदेखि पुनः मेलम्चीको पानी वितरण शुरु भएको छ ।

आजदेखि पुनः वितरण गरिएको पानी शुरुवातमा अनामनगर र मीनभवनमा वितरण गरिने छ । त्यसपछि क्रमशः महाङ्कालचौर, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा पुर्याइने खानेपानी मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा परिसरमा रहेको धाराबाट पानी पिएर खानेपानी  वितरणको पुनः शुभारम्भ गर्नुभएको हो । चौथो पटक काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण हुँदा पाँचौँ पटक शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले सबैलाई समान रुपमा खानेपानी वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

उहाँले बाह्रै महिना उपभोक्तालाई पानी वितरण गर्ने आश्वासन दिनुभएको छ ।  यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एक-एक पटक तथा पूर्वखानेपानी मन्त्री उमाकान्त चौधरीले दुई पटक उद्घाटन गर्नुभएको थियो ।

बाढी पहिरोबाट क्षतिग्रस्त भएपछि  मेलम्ची मुहानबाट पानी पठाउने काम बन्द हुँदै आएको छ । यसपटक पनि गेग्रान मात्रै हटाएर काठमाण्डाैमा पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । वर्षा लाग्नसाथ सुरुङ बन्द गर्नुपर्छ ।

मेलम्ची खानेपानी आयोजनाको भविष्य नै अनिश्चित रहेका बेला उद्घाटन गर्दै चर्चा कमाउन भने मन्त्रीदेखि प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्मकै होड चलिरहेको छ ।

Comment


Related News