अपडेट 
२०८० माघ २, मंगलवार ०७:४१

पर्सा जिल्लाको एक मात्र सामुदायिक क्याम्पसको रुपमा सञ्चालित हरिखेतान बहुमुखी क्याम्पसको नवनिर्मित भवन निर्माणमा व्यापक आर्थिक अनियमितता भएको छ ।

क्याम्पसका निमित प्रमुखले पूर्व क्याम्पस प्रमुखले भवन निर्माणमा आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् । पूर्व क्याम्पस प्रमुख भगवान यादवले अनियमितता गरेको कारण क्याम्पसबाट ठेक्कापट्टाको फाइल समेत गायब गरिएको निमित क्याम्पस प्रमुख किशोरी रायको आरोप छ । पुस १ गतेदेखि क्याम्पसको निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका रायले वीरगञ्ज ३ आदर्शनगर स्थित ८ कठ्ठा क्षेत्रफल जग्गामा निर्मित १० कोठाको एक तल्ले भवन निर्माण पुरा नहुँदै ठेकेदारलाई पूर्व क्याम्पस प्रमुख भगवान यादवले सबै भुक्तानी दिएको आरोप लगाए ।

पत्रकारहरुसितको भेटमा निमित्त क्याम्पस प्रमुख रायले २ करोड ७४ लाख रुपैयाँमा निर्माण गरिएको नयाँ भवनमा व्यापक आर्थिक अनियमितता भएको उल्लेखगर्दै छानबिनका लागि माग गरेका छन् ।

२०७६ सालमा सन्तोष निर्माण सेवाले इबिडिग मार्फत ठेक्का सकारेर निर्माण गरेको भवनको आधा भन्दा बढी काम अधुरै रहेपनि पूर्व क्याम्पस प्रमुख यादवले निर्माण कम्पनीलाई दुई वर्ष अघि नै सम्झौता अनुसार पूर्ण भुक्तानी गरिसकेको जानकारी भएको रायले बताए । आवश्यक कारबाहीको लागि लेखा प्रमुख विनोद यादवसंग ठेक्कापट्टाको फाइल मांग गर्दा उनले पूर्व प्रमुखले नै फाइल लिएको बताएर पञ्छिन खोजेको आरोप लगाए ।

लेखा प्रमुख यादवले सबै रकम ठेकेदारलाई भुक्तानी भइसकेको मौखिक रुपमा जानकारी दिएको रायले बताए । ३८ बर्ष देखि क्याम्पस प्रमुखको रुपमा एकछत्र काम गर्दै आएका भगवान यादवले व्यापक भ्रष्टाचार गरेको आरोपहरु लाग्न थालेपछि सञ्चालक समितिले उनलाई अनिवार्य अवकाश दिएको थियो ।

प्रेमप्रकाश खेतान अध्यक्ष रहेको क्याम्पस सञ्चालक समितिको गत मंसिर ३० गते बसेको बैठकले यसअघिका क्याम्पस प्रमुख यादवलाई बर्खास्त गरेर पुस १ गते देखि निमित्त क्याम्पस प्रमुखमा रायलाई नियुक्त गरेको हो । तत्कालीन क्याम्पस प्रमुख यादवले पत्रकारसम्मेलन गरेर नै विरोध जनाएका थिए । निर्माण कम्पनीसंग क्याम्पसले गरेको सम्झौतामा ठेक्का सम्झौता भएको दुईवर्ष भित्रमा रंगरोगन सहित भवन निर्माणको काम सम्पन्न गरी मात्र क्याम्पसलाई भवन हस्तान्तरण भएपछि भुक्तानी गर्ने उल्लेख थियो ।

यसबारेमा पूर्व क्यम्पस प्रमुख भगवान प्रसाद यादव र ठेकेदार सन्तोष पटेलको मोबाइलमा सम्पर्क गर्दा उनीहरुको नम्बरमा आगमन कल निषेध गरिएको जवाफ मात्र प्राप्त भयो । हरिखेतान क्याम्पसको अधुरो नव निर्मित उक्त भवनलाई अहिले स्थानीयले गाईगोठ बनाएका छन् । नवनिर्मित भवनको बरण्डा छेउको कोठामा गाई बाँध्ने गरिएको छ । बरण्डा परिसर गाईको गोबर र पिसाबले गन्हाएको छ । भवनका अन्य कोठाहरुमा बजारबाट संकलन गरिएका कबाड भण्डारण गरिएको छ । निमित्त क्याम्पस प्रमुख रायले भने अधुरो नवनिर्मित भवनमा राखिएका गाई र कबाडहरु अविलम्ब हटाइने बताए । भवन निर्माणमा गरिएका अनियमितताको कानुनी रुपमा टुङ्गो लागेपछि मात्र अधुरो काम पूरा गरेर भवनमा कक्षा सञ्चालन गरिने रायको कथन छ ।

हरिखेतान क्याम्पसको भवन निर्माणमा अनियमितता भएको आरोप लागेसँगै हाल भवन र सम्पूर्ण कम्पाउण्ड अलपत्र परेको छ । भवनमा कक्षा कोठा सञ्चालन नभएपछि स्थानीय बासिन्दा र कबाड व्यवसायीहरुले प्रयोग गर्न थालेका छन् । पर्सा र बारा जिल्लाका विद्यार्थीहरु माझ हरिखेतान क्याम्पस राम्रो मानिन्छ । स्नातकोत्तर सम्मको अध्यापन हुने क्याम्पसमा विद्यार्थीहरुको संख्या पनि राम्रै रहेको छ ।

सामुदायिक क्याम्पसको विद्यार्थी संख्या घटिरहेको बेला अध्यापनमा जोडदिनु पर्नेमा क्याम्पसको भौतिक संरचनामा आर्थिक अनियमितता गरी अलपत्र बनाइएको छ । निमित्त क्याम्पस प्रमुख रायले भवन निर्माणमा भएको आर्थिक अनियमितताको छानबिनका लागि सञ्चालक समितिले पनि सहयोग गरिरहेको बताए । ‘लामो समयदेखि क्याम्पस प्रमुख रहेका यादवले नियमकानुन विपरीतका कामहरु गरेकाले छानबिन हुनु आवश्यक छ ’ उनले भने, आर्थिक अनियमिततामा संलग्न रहेका सबैलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायहरुमा पत्राचार गरिनेछ ।

Comment


Related News

Latest News

Trending News