अपडेट 
२०८० माघ २, मंगलवार ०७:५७

धनुषाको धनुषाधाममा माघे संक्रान्तिको अवसरमा लाग्ने एक महिने मकर मेला सोमबारदेखि सुरु भएको छ ।

प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्दै आएको धनुषाधामको मकर मेला यस क्षेत्रको सबैभन्दा प्रख्यात मेला रहेको छ । जनकपुरधामदेखि करिब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधामको मेलामा नेपाल तथा छिमेकी देश भारतका गरी लाखौँको संख्यामा दर्शनार्थीको सहभागिता रहने गर्दछ। धनुषाधाम मन्दिरमा अरू दिन पनि भक्तजनहरू आउने गरेको भए पनि अन्य दिनको तुलनामा मेलामा बढी दर्शनार्थी आउने गरेको मन्दिरका पुजारी स्वामी भरत दासले बताए । धनुषाधाम मन्दिरमा भगवान् शिवको पिनाक धनुषको पूजापाठ गरी भाकल गरेको खण्डमा चिताएका कुरा पुरा हुने भएकाले दर्शनार्थीहरुको अत्यधिक भीड लाग्ने गरेको छ ।

त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वयंवरमा श्रीरामले वाण चलाउँदा तीन टुक्रा भएको थियो । त्यसमध्ये एक टुक्रा आकाश, अर्को पाताल तथा तेस्रो टुक्रा धनुषधाममा खसेको धार्मिक मान्यता छ । धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ ।

उक्त रुख साढे पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावस्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङ्गले रङ्गिने गरेको जनविश्वास छ । धनुषको मध्य टुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन् । यहाँ बर्सेनि धनुषको आकार बढ्दै गएको मन्दिरका महन्थ दासको भनाइ छ ।

यहाँ मंसिरमा रामजानकी विवाहपञ्चमी महोत्सव, फागुनमा मध्यमा परिक्रमा र चैतमा रामनवमीका दिन मेला लाग्छ । शताब्दियौंदेखि जनविश्वासले गर्दा स्वस्फूर्तरूपमा अध्यात्मिक केन्द्रबिन्दु रहँदै आएको धनुषाधामलाई पर्यटकीय गन्तव्यको रूपमा अगाडि सार्ने काम स्थानीय युवाले गरिरहेको छन् । धनुषाधाममा रहेको धार्मिक महत्वको सरोवरहरूको सरसफाइ गरिएको छ ।

सरसफाइपछि चिटिक्क देखिएका छन् । स्थानीय युवाहरूले अभियानको रूपमा समूह बनाएर धार्मिक महत्वका धनुष सागर र वाणगङ्गा सरोवरलगायतका स्थानको सरसफाइ गरी पर्यटन क्षेत्रको रूपमा विकास गर्दै आएका छन् । यस्तै, धनुष सागरमा स्नान गरेमा मुसे रोग (अइल्हा) र छारेरोग निको हुने जनविश्वास छ ।

Comment


Related News