अपडेट 
२०८० माघ ३, बुधबार १६:१४

मधेश प्रदेश सरकारले आफ्नो एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।

मधेश स्वाभिमान दिवसको उपलक्ष्यमा बुधबार मुख्यमन्त्री सरोज कुमार यादवले एक वर्षको अवधिमा सम्पन्न गरेका विभिन्न कार्यहरुको विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री यादवले आफ्नो कार्यकालको एक वर्षमा सफलताका साथ कार्य सम्पादन गरेको दाबी गरेका छन् ।

भौतिक विकास तर्फ रामजानकी बहुउद्देश्य रंगशालालाई प्रदेश गौरव योजनाको रुपमा राखेर अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा निर्माण कार्य शुरु गरिएको, एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत ३५ किलोमिटर कालोपत्रे सडक निर्माण, ८ वटा पूल निर्माण, प्रादेशिक सडक संजाल निर्माणका लागि गुरुयोजना निर्माण लगायतका निर्माण कार्य गरिएको पगति विवरणमा समेटिएको हो ।

सिंचाईका विभिन्न ५ वटा योजनाहरु सम्पन्न भएर १ हजार १ सय ४० हेक्टर जग्गा सिंचित गरिएको, भूमिगत सिंचाईतर्फ ४५ वटा डिप ट्यूबवेल र १५ वटा पावर ड्रिल निर्माण भई करीब ९सय ८० हेक्टर जग्गामा थप सिंचाई सुविधा उपलब्ध गराइएको मुख्यमन्त्री यादवले बताए ।

प्रदेशस्तरका नदी तथा खोलाहरुको नियन्त्रण कार्य ८ वटा जिल्लाहरुमा ८ सय १० किलोमिटर सम्पन्न भई ८सय ५० हेक्टर जग्गा उकास भएको र ८ वटा अति जोखिमयुक्त वस्तीहरुको संरक्षण भएको मुख्यमन्त्री यादवले बताए ।

प्रदेश सरकार अन्तर्गत संचालित जलेश्वर, पोखरिया, भारदह र डुमरिया अस्पताललाई ५० बेडमा स्तरोन्नति, नारायणी अस्पताल वीरगंज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज र प्रादेशिक अस्पताल जनकपुरमा २५/२५ बेड र कलैया, गौर, मलंगवा, जलेश्वर र सिरहा अस्पतालमा १५/१५ बेडको एचडियु स्थापना गरी सेवा प्रदान, प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गरेपछि प्रदेशमा बसोवास गर्ने व्यक्तिहरुको औसत आयु ७१।५ वर्ष पुगेको बाल तथा मातृ मृत्यु दरमा सुधार आउनुलाई प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको आफ्नो उपलब्धीमा राखेको छ ।

कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताहरुले साईकल घोटाला सम्बन्धी मुद्यालाई अगाडि ल्याएर विरोध जनाएपछि मुख्यमन्त्री यादवले कडा प्रतिक्रिया जनाएका थिए ।

कार्यक्रममा मधेश प्रदेश सरकारका मन्त्री, विभिन्न पार्टीका कार्यकर्ता एवम सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News