अपडेट 
२०८० माघ ६, शनिबार ०८:१८

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार र पहिचानका लागि अझै संघर्ष गर्न बाँकी रहेको बताएका छन् ।

गृह सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा वीरगञ्जको नगर सभागृहमा आयोजित बलिदानी दिवसलाई सम्वोधन गर्दै अध्यक्ष यादवले मधेशमा सबैभन्दा बढी अशिक्षा, गरिबी, बेरोजगारी रहेको बताउँदै उनले मधेशी जनताले सबैभन्दा बढी अपमानित जीवन बिताइरहेको बताएका छन् । त्यही न्यायका लागि जनविद्रोह भएको बताउँदै उनले अन्तरिम संविधान संशोधन गरेर स्वायत्त मधेश प्रदेशसहित मधेश प्रदेश हुने भनिए पनि षड्यन्त्रपूर्वक आठ जिल्लामा सीमित गरेको बताए ।

मधेशीलाई कमजोर बनाउन मधेशलाई चारपाँच टुक्रामा विभाजन गरेको यादवको आरोप थियो । तत्कालका लागि आठ जिल्लालाई मधेश प्रदेश बनाउने र पछि बाँकीका लागि लड्ने नीति अनुसार आफू अघि बढेको उनको भनाइ छ । समावेशी, समानुपातिक, आरक्षण मधेश आन्दोलनका कारण प्राप्त भएको बताउँदै उनले संघीय प्रणालीकै कारण मधेश प्रदेश बनेको चर्चा गरे ।

संघीयताको महत्त्व दिन प्रतिदिन बढ्दै गएको बताउँदै उनले मधेशीमाथि भएको विभेद, सामाजिक अन्याय अझै कायम रहेको जिकिर गरे । यो संविधान त्रुटिपूर्ण रहेको बताउँदै अध्यक्ष यादवले यसलाई संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष यादवले मधेशलाई ४÷५ टुक्रा पारेको भन्दै आक्रोश पनि पोखेका थिए । ‘मधेश आन्दोलन मात्र ८ जिल्लालाई मधेश प्रदेश बनाउन भएको थिएन । आन्दोलनको लक्ष्य समग्र मधेश एक स्वायत प्रदेश थियो’ यादवले भने ‘तर जब पुनःरसंचना आयोग बन्यो, टुक्राटुक्रा बनाइयो ।’ पश्चिमका थारुले प्रदेश मागेपछि दुई प्रदेश स्वीकार गरेको भए पनि राज्यले षडयन्त्रपूर्वक ४/५ टुक्रा बनाएको उनले बताए । आठ जिल्लालाई मधेश प्रदेश बनाएको भन्दै उनले अघि भने, ‘हाम्रो लक्ष्य मेचीदेखि नारायणी, नारायणीदेखि महाकालीसम्मका मधेशीलाई मुक्ति दिलाउनु हो । त्यो त्यागेका छैनौं, त्याग्ने पनि छैनौं ।’ देशमा भएका अन्य आन्दोलनहरु केवल सत्ता प्राप्तिका लागि भएको बताउदै नेता यादवले मधेश आन्दोलन राज्य प्रणालीमा परिवर्तन र स–सम्मान हक अधिकारीका लागि भएको बताए ।

अध्यक्ष यादवले अब फेरि मधेशमा अर्को ठूलो संकट आउन लागेको छ, त्यो संकट भनेको चुरेको उत्खनन रहेको बताए । यो उत्खननले मधेश नै ध्वस्त हुने भएकोले चिन्ता व्यक्त गरे । उनले भने–‘माफियाहरुको चलखेलमा चुरेबाट बालुवा गिट्टी उत्खनन गर्ने खेल भइरहेको छ, जसबाट मधेशमा पानीको मुहान अझ तल घटेर जान्छ । यो भनेको मधेशको हितमा होइन, उनले भने,‘यो रोक्नका लागि सडकदेखि सदनसम्म संघर्षको जरुरी छ । त्यो संघर्षको तयारीमा बस्नुहोला ।’

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले घाइते र शहादत दिएका परिवारका लागि एउटा कार्ड जारी गर्ने सरकारको तयारी रहेको बताए । उनले मधेश सरकारबाट जारी हुने कार्डले प्रदेशभरिका अस्पतालमा निःशुल्क उपचार हुने व्यवस्था गरिने बताए । उनले भने–‘ मधेश प्रदेश सरकारले कसैलाई विभेद गरेको छैन, सबै शहीद परिवार र घाइतेहरुलाई जागिरको व्यवस्था गरिन्छ, अन्य सेवा सुविधा पनि दिइन्छ । त्यसका लागि प्रदेश सरकार आफ्नो गृहकार्य सुरु गरिसकेको छ ।’

प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमको अध्यक्षतामा भएको बलिदानी दिवस कार्यक्रममा संघीय सरकारका पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादव, प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री सञ्जय यादव, खेलकुदमन्त्री सुरिता साह, उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव, उर्जा सिँंचाई तथा खानेपानीमन्त्री सिंहासन सा कलवार, वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, प्रदेशसभा सदस्यहरु जर्नादन सिंह क्षेत्री, श्याम पटेल, प्रमोद जयसवाल लगायतले पनि धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News