अपडेट 
२०८० माघ ६, शनिबार ०८:२९

माघ ५ अर्थात् मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोले शहादत प्राप्त गरेको दिन । २०६३ साल माघ ५ गते एक माओवादीका अंगरक्षकले चलाएको गोली लागेर महतोको मृत्यु भएको थियो । रमेशको शहादतले आफ्नो मातृभूमि, पहिचान, समानताको अधिकार प्राप्तिका लागि ज्यानसम्म उत्सर्ग गर्ने फौज तयार गरेको दियो ।

यहि हौसलाले हौसिएर मेची देखि महाकाली सम्मका अनेकौं वीरहरु आफ्नो ज्यानको आहूति दिएका थिए । रमेश महतोको शहादतले सिंगै मधेशलाई एकतावद्ध बनायो । यसै एकवद्धतारुपी मानवश्रृंखलाको कारण मुलुकमा संघीयताको जयघोष भयो । आज हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छौं । संविधानमा कमी कमजोरी छ । यसलाई सच्याउनु पर्छ भन्ने विषयमा दुई मत हुनै सक्दैन । तर संविधान संशोधन होइन, पुनःलेखन गर्नुपर्छ भन्दै आन्दोलनको उद्घोष गरेका अगुवाहरु अचेल कहाँ र कुन हैसियतमा छन् ? मातृभूमि, मातृपहिचान र समानताको अधिकार प्राप्तिको लडाईमा ज्यान गुमाउने अमर शहीदहरु रमेश महतो, निकु यादव, दिलीप यादव र संजय चौधरीका परिवारहरु कहाँ र कुन अवस्थामा छन ?

आज १७ हौं बलिदानी दिवस मनाइ रहँ्दा यी प्रश्न हामी सबैको मन मुटुमा छ । दोस्रो जनआन्दोलनको सफलतापछि २०६३ माघ १ गते अन्तरिम संविधान जारी भएको थियो । संघीयता बिनाको यस संविधानप्रति विमति जनाउँदै उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालका कार्यकर्ताहरूले माघ २ गते राजधानीस्थित माइतीघर मण्डेलामा अन्तरिम संविधानको प्रति जलाएका थिए ।

प्रहरीले अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूलाई पक्राउ ग¥यो । उनीहरूमाथि सार्वजनिक अपराध मुद्दा दायर गर्ने तयारी गर्दै गर्दा सिंगै तराई मधेशमा आन्दोलन चर्किएको थियो । माघ ३ मा तराई– मधेश बन्दको घोषणा गरियो । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध रहेकै बेला माघ ५ मा सिरहाको लहानमा माओवादीका नेताका अंगरक्षकले चलाएको गोली लागेर स्थानीय विद्यार्थी रमेश महतोले शहादत प्राप्त गरेका थिए । झण्डै २४ दिनसम्म चलेको पहिलो मधेश विद्रोहको क्रममा दुई दर्जनभन्दा बढीले शहादत प्राप्त गरेका थिए । दोश्रो र तेश्रो मधेश विद्रोहको क्रममा महन्थ ठाकुर, श्रीकृष्ण यादव, गणेश नेपालीहरु पनि मधेशी कित्तामा आइसकेका थिए । पछिल्ला मधेश विद्रोहमा पनि दर्जनौंले शहादत दिए ।

दुई दर्जनको शहादत पश्चात् भएको पहिलो संविधानसभाको चुनावका सिंहदरबार र संविधानसभाको स्वरुप परिवर्तन भयो । मधेश केन्द्रित दलहरुबाट मात्र होइन अरु अरु दलहरुबाट पनि मधेशी नेताहरु चुनाव जितेर संविधानसभा पुगे । मधेशी दलहरु‘किङ्ग मेकर’ को हैसियतमा थिए । आफ्नो पक्षमा संविधान लेख्ने–लेखाउने ल्याकतमा थिए तर सत्ताको मातमा मधेशी दलका नेताहरु मातिए । जनताले तीनवटा दललाई संविधानसभामा पु¥याएका थिए । संविधानसभा अन्त्य हुने वेलासम्म मधेशी दलको संख्या २० पुगेको थियो । सरकारमा जाने मधेशी नेताहरूको चस्काले दल र मधेशी जनताबीचको दूरी क्रमिक रूपमा बढ्दै गयो ।

अझ सबैभन्दा दुःखद त के रहयो भने सरकारमा जानकै लागि मधेशी दलका नेताहरूले अन्य पार्टीहरूसँग बँुदै–बुँदाको सम्झौता गर्दै हिंडे । उधारोमा गरिएका यी सम्झौताहरुले नेताहरुलाई मन्त्री त बनायो तर ती सम्झौताहरु कहिल्यै कार्यान्वयन भएनन् । दोस्रो संविधानसभाको निर्वाचनले मधेशी दल तथा नेताहरुलाई दण्डित ग¥यो । संविधान सभामा मधेशी दलको प्रतिनिधित्व पहिलोको तुलनामा आधा भन्दा पनि कम भयो । मधेशी प्रतिनिधित्व न्यून रहेको वेला संविधान जारी भएको थियो ।

माथि दोश्रो संविधान सभाबाट संविधान जारी भइरहेको बेला तलको तराई मधेश भने आन्दोलनमा थियो । दोश्रो र तेश्रो मधेश विद्रोहको क्रममा पनि दर्जनौं आन्दोलनकारीले शहादत दिए । शहादत पछिको आम निर्वाचनमा मधेशवादी दलहरुको पुनः दह्रो उपस्थिति देखियो । यसरी के देखिएको छ भन्ने मधेशवादी दलको भोटको मुख्य आधार आन्दोलन र शहादत हो ।

राजनीतिक दर्शन, इमानदारिता तथा आम नागरिकको लागि सेवा प्रवाह होइन । शहीद परिवारहरु बिचल्लीमा छन् । मूल प्रवाहका पार्टीहरु जस्तै मधेशवादी दलहरुमा पनि नेताहरुको सखा सम्बन्धी, आसेपासे तथा पैसावालाहरुको हालीमुहाली छ । मधेश प्रदेशलाई त जातिवाद नामक अर्को रोगले पनि ग्रसित गर्न थालेको छ ।

अचेल स्वर्गबाट दिलीप यादवहरु सोध्दै होलान् – ६ वर्ष बितिसक्दा पनि खोइ प्रदेशको कामकाजको भाषा ? मधेश सरकारमा खोइ दलितको समानुपातिक प्रतिनिधित्व ? खोइ महिलाको प्रतिनिधित्व ? शहीद परिवारलाई गच्छे अनुसारको खोइ ५० लाख ? कमी कमजोरी जहाँबाट भएपनि मधेश विद्रोहले मुलुकमा संघीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशी प्रतिनिधित्व आदिको ग्यारेन्टी गरेको छ ।

संविधानमा लेखिएका यी उपलब्धिहरु अमर शहीदहरुको रगतले हो । अतः बलिदानी दिवसको अवसरमा अमर शहीदहरुलाई हार्दिक नमन ।

Comment


Related News

Latest News

Trending News