अपडेट 
२०८० माघ ७, आईतवार ०७:४५

भारत उत्तरप्रदेशको अयोध्यामा नवनिर्मित भगवान राममन्दिरमा प्राणप्रतिष्ठाको अवसरमा जनकपुरधामबाट अयोध्या जाने भनिएको विशेष रेल शनिवार साँझ रद्द भएको छ । रेलका अधिकारीहरुले सुरक्षाको कारण देखाउदै रद्द गरिएको जनाएका छन् ।

भारत र उत्तरप्रदेश सरकारले २२ तारेख अर्थात माघ ८ गते अयोध्यामा नआउन आग्रह गरिरहेको बेला जनकपुरधामबाट रेल मार्फत श्रद्धालुहरुलाई लग्ने तयारी गरिएको थियो । प्राण प्रतिष्ठाको अवसरमा मिथिला क्षेत्रका श्रद्धालु भक्तजनहरु बोकेर आईतवार बिहानै जनकपुरधामबाट प्रस्थान गर्ने भनिएको रेल सेवालाई भारतीय सुरक्षा अधिकारीहरुले अनुमति नदिएपछि रद्द गरिएको नेपाल रेल्वेका प्रमुख प्रशासकीय अधिकृत रंजित ठाकुरले बताएका छन् ।

राममन्दिरको प्राणप्रतिष्ठाको लागि जनकपुरधामबाट रेल अयोध्या जाने भनेपछि यस क्षेत्रका श्रद्धालुभक्तजनहरु उत्साहित भएका थिए । नेपाल रेल्वे कम्पनिले केहि यात्रुको टिकट समेत काटि सकेको थियो । नेपाल रेल्वे कम्पनिले सो रेल सेवाको लागि जेनरलमा १ हजार, एसीमा २ हजारदेखि ३ हजार सम्म एकतर्फी भाडा दर तोकेको थियो ।

जनकपुरधामबाट अयोध्या जाने भनिएको भारतीय रेल दरभंगाबाट जयनगर समेत आईपुगेको थियो । तर अयोध्याका सुरक्षा संयन्त्रले रेल ल्याउने अनुमित नदिएपछि अन्तिम समयमा उक्त रेल सेवा रद्द गरिएको हो । दरभंगाबाट अयोध्या चल्ने २० बोगीसहितको भारतीय रेल नेपाल रेल्वे कम्पनिले यस क्षेत्रका श्रद्धालु भक्तजनहरुलाई ध्यानमा राखेर परराष्ट्र मन्त्रायलय मार्फत समन्वय गरेको थियो ।

रेलवेका महाप्रबन्धक निरञ्जन झाले शनिवार समाजिक सञ्जाल मार्फत भारतीय रेललाई ल्याएर जनकपुरधामबाट अयोध्या लग्ने सन्देश सार्वजनिक गरेका थिए । भारतीय रेलवेले जनकपुरधामबाट दरभंगा–अयोध्या चल्ने ‘अमृत’ रेल पठाउने तयारी गरेको थियो ।तर सो रेललाई अयोध्या भन्दा करिब १५ किलोमिटर पछाडी नै रोक्ने भनिएको थियो ।१५ किलोमिटर पछाडी ओर्लेर श्रद्धालुहरु पैदल अथवा अन्य सवारी साधन मार्फत अयोध्याको रामजन्मभूमी नजिक पुग्नु पर्ने थियो ।

रेलको टिकट काटिसकिएको अवस्थामा साँझ रद्द गरिएको रेल सेवाको कारण सयौं श्रद्धालुहरु अलपत्र परेका छन् ।रेलमा प्रथम श्रेणी, द्वितिय श्रेणी, तृतिय श्रेणी सहित शयनयानका बोगीहरु रहेको थियो । १ हजार ४ सय यात्रु बोक्ने क्षमताको सो रेललाई आइतवार बिहान जनकपुरधाम स्टेशनबाट छुट्ने समय सीमा निर्धारण गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News