अपडेट 
२०८० माघ ७, आईतवार ०७:४९

मधेशमा चिसो बढेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ६ मा रहेको मुसहर बस्तीमा शनिवार पुगेर अनुगमन गरेका छन् ।

पूर्ब राजा ज्ञानेन्द्र परिवारसहित दुई हप्तादेखि सिमरामा रहेका छन् । पूर्वराजा शाह परिवारका सदस्यसहित शनिवार मुसहर बस्तीमा गएका थिए । गत असोज १२ गतेमा प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले मुसहर समुदायका २० परिवारलाई घर बनाएर बस्ती हस्तान्तरण गरेको थियो ।

पूर्वराजपरिवार भित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित पुगेका थिए । मुसहरवस्तीमा पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी थिए । बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्वराजदम्पतीले मुसहर समुदायका नागरिकसँग भलाकुसारीगर्दै उनीहरुसित चिया पिएका थिए ।

मुसहर जाती दलित वर्गमा पर्छन् ।देशमा अत्यन्त पिछडिएका मुसहर समुदायमा पूर्व राजा र परिवारका सदस्यहरु पहिलो पटक १ घण्टा लामो समय व्यतित गरेका हुन् । पूर्वराजपरिवारको स्वागतमा मुसहर समुदायका युवायुवतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

यसअघि पूर्वराजदम्पतीलाई बस्तीमा बसोबास गर्ने २० वटै घरका परिवारका सदस्यले स्वागत गरेका थिए । सो क्रममा बस्तीमा बसोबास गर्ने नागरिकका लागि दिवा भोजनको व्यवस्थापन गरिएको थियो । पूर्वराजाले दिवाभोजनका लागि बनाइएको परिकार समेत हेर्न भ्याएका थिए । उनले बस्तीका नागरिकलाई खाना खान आग्रह गरिरहेका थिए ।

पूर्वराजालाई बस्तीमा स्वागत गर्न पाउँदा मुसहर समुदायका नागरिक खुसी देखिन्थे । एक साता अघि सिमरा आएका पूर्व राजा ज्ञानेन्द्र शाहले केही दिनअघि पर्सा राष्ट्रिय निकुञ्जको सफारी गरेका थिए । देशमा राजतन्त्र रहँदादेखि नै जाडोको मौसममा तत्कालिन राजारानी देशको बिभिन्न विकास क्षेत्रको भ्रमण गर्ने चलनलाई पूर्व राजा ज्ञानेन्द्र शाहलेपनि निरन्तरता दिएका छन् ।

देशमा गणतन्त्र घोषणा भएपछि नारायणहिटी राजदरवारबाट बाहिरिएका ज्ञानेन्द्र शाहलाई पूनःगद्दिमा आसिन गराउन देशका केहि राजनीतिक दल लगायत बिभिन्न क्षेत्रबाट सकृय प्रयास भइरहेको छ । पूर्व राजा शाह परिवारसहित मुसहरवस्तीमा जाँदा नजिकका अन्य बस्तीहरुबाटपनि ठूलो संख्यामा सर्वसधारण पुगेका थिए ।पूर्व राजाप्रति सर्वसधारणमा अझै सम्मान रहेको छ ।मुसहर वस्तीमा पहिलोपटक पुगेका पूर्व राजपरिवारले दलितहरुको सहानुभूति लिन उनीहरुसित घुलमिल भएका थिए ।

Comment


Related News

Latest News

Trending News