अपडेट 
२०८० माघ ८, सोमबार ०७:४८

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध कारबाहीको माग गर्दै सात वटा निकायमा जाहेरी तथा उजुरी परेको छ ।

फर्जीको विवरणको आधारमा रुविना श्रेष्ठलाई छोरी बनाएर नागरिकता दिलाएको भन्दै उनीविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिइएको छ । मेयर सिंहविरुद्ध कारबाहीको माग गर्दै प्रधानमन्त्रीको कार्यालयदेखि लिएर गृह मन्त्रालयसम्म तथा पर्सा जिल्ला प्रशासन कार्यालय, पर्सा प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीआइबी तथा राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी परेको छ ।

अरुको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै पर्साका स्थानीय तथा कांग्रेस समर्थकहरुले पहिलोपटक पुस २४ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरियो । दर्ता नम्बर– १३२५ रहेको यो उजुरी नै मेयर सिंहविरुद्धको पहिलो उजुरी छ । योसँगै मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा दर्जनभन्दा बढी उजुरी परेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ । त्यसपछि यही विषयमा छानबिनको माग गर्दै पर्सा प्रहरीमा अर्को जाहेरी प¥यो ।

मेयर सिंहसहित रुविना श्रेष्ठमाथि कारबाहीको माग गर्दै कांग्रेस पर्सा–२ का क्षेत्रीय सभापति महम्मद सहाबुदिनले पर्सा प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरीले जनाएको छ । पर्सा प्रहरी प्रमुख कोमल शाहले मेयर सिंहसहित २ जनाविरुद्ध फौजदारी अपराध अन्तर्गत जाहेरी परेको जनाउँदै त्यसमाथि छानबिन भइरहेको बताए । उनले भने, ‘नागरिकता प्रकरणमा केही विषयमा छानबिन भइरहेको छ, त्यो सकिएपछि दर्ता गरेर बाँकी प्रक्रिया अगाडि बढाइन्छ ।’

यसैगरी नागरिकता प्रकरणबारे यही साताभित्रै सत्यतथ्य छानबिनको माग गर्दै गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयमा समेत उजुरी दिइएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पर्साका नेताहरुले भेटघाट गर्दै सत्यतथ्य छानबिनको माग गर्दै उजुरी दिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

गृहमन्त्री श्रेष्ठले उजुरी बुझ्दै मेयर सिंहले दिलाएको नागरिकताबारे छानबिन गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएको बताइएको छ । पर्साका नेताहरुसँगको भेटमा गृहमन्त्री श्रेष्ठले दोषी देखिए कारबाही हुने प्रतिबद्धता जनाएको भेटमा सहभागी स्रोतले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले समेत मन्त्रालयमा उजुरी परेको र त्यसमाथि सत्यतथ्य बुझ्ने काम भइरहेको जनाएका छन् ।

योसँगै प्रधानमन्त्रीको कार्यालयमा समेत उजुरी दिइएको कांग्रेस क्षेत्रीय सभापति महम्मद सहाबुदिनले जनाए । उनका अनुसार प्रधानमन्त्रीको कार्यालयसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सीआइबी तथा सतर्कता केन्द्रसहित थुप्रै निकायमा उजुरी तथा जाहेरी दिइएको छ । नागरिकता प्रकरणबारे सञ्चार माध्यममा समाचारहरु आउन थालेपछि पर्साको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल सुरु गरेको खोजबिनमा अनुसूची फर्म नै गायव बनाएको पाइएको जनाए ।

यसरी सीडीओबाटै अनुसूची फर्म गायब भएपछि यो विषय झन् शंकास्पद रहेको भन्दै प्रजिअ भुसालले सहायक सीडीओ शिव लम्सालको नेतृत्वमा छानबिन समितिसमेत गठन गरिसकेका छन्, जसलाई अनुसूची फर्म खोजेर अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ । तर छानबिन समिति गठन भएको दुई साता पुग्न लाग्दा पनि अहिलेसम्म अनुसूची फर्म नै फेला पार्न नसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । रुविना श्रेष्ठको नागरिकतामा बुबाको नाममा राजेशमान सिंह उल्लेख छ । तर नागरिकता लिँदाको अनुसूची फर्म भने अहिले गायब पारिएको छ ।

Comment


Related News

Latest News

Trending News