२०८० माघ ९, मंगलवार ०८:२४

आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ ।

अयोध्याको नवनिर्मित राम मन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर सोमबार भएको प्राण प्रतिष्ठा कार्यक्रमकै अनुसरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति (प्रतिमा) तयार गरेको छ । निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा स्थापित गरिएको छ ।

लक्ष्मीनारायण मठ मुलुकका सबै मठको नायक मानिन्छ । श्रीरामको बालरूप प्रतिमा सोमबार अयोध्यामा निर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । “स्थापित परम्पराअनुसार धार्मिक विधिका साथ मठमा श्रीराम र जानकीको प्रतिमा स्थापित गरी सोमबारनै प्राण प्रतिष्ठा गरी पूजा अर्चना थालिएको”, नगरप्रमुख मण्डलले भने, “रामलला (श्रीरामको बालस्वरुप) को प्रतिमा अयोध्यामा प्राण प्रतिष्ठा कार्यक्रम सँगसँगै हामी यहाँको प्रतिमा स्थापना गरेका छौं।” अहिले जताततै बन्दै गएको श्रीराममय परिवेशको साक्षात् अनुभूति नगरवासीलाई गराउन प्रतिमा बनाएर स्थापित गरिएको उनको भनाइ छ ।

प्रतिमा स्थापित र प्राण प्रतिष्ठाको कार्यक्रमसँगै जोडेर बिहान पवित्र लक्ष्मी सागरमा आरती गरियो । लक्ष्मी सागर तलाउ अघि त्रेता युगमा श्रीराम र सीताको विवाहमा यज्ञ वेदी बनाउन माटो खनिएको पवित्र स्थल मानिन्छ ।

सोमबार साँझ लक्ष्मीनारायण मठमा महाआरती र सांस्कृतिक उत्सवका कार्यक्रम गरिएको छ । यो धार्मिक समारोहको तयारीमा मटिहानीस्थित लक्ष्मीनारायण मठ परिसर, लक्ष्मी सागर र वरपर दुलही झैँ सिँगारिएको छ । शिल्पकार राजु लालले १५ दिन लगाएर उक्त प्रतिमा कुँदेका छन् । प्रतिमा बनाउन काठका २० वटा प्लाई (फलेक) प्रयोग भएका उनले बताए ।

Comment

Related News