अपडेट 
२०८० माघ १४, आईतवार ०७:१९

नेपाल सरकारको स्वामित्वमा रहेको वीरगञ्ज चिनी मिलमा आयोजना गर्न लागिएको ‘ सीताराम संकिर्तन १०८ कुण्डीय महायज्ञ एवं विष्णु महायज्ञको राष्ट्रपति रामचन्द्र पौडेलबाट समुद्घाटन हुने वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले समाजिक सञ्जालमा लेखेका छन् ।

मेयर सिंहले यज्ञ स्थलको निरीक्षण गरेको फोटो साझा गर्दै शनिबार उनले राष्ट्रपतिबाट समुद्घाटन हुने जानकारी दिएका छन् । भारतका सन्त ‘पगला बाबा’ले आयोजना गर्न लागेको सो महायज्ञको उद्घाटन स्थल विवादित रहेकाले राष्ट्रपति नआउने भएका छन् ।

राष्ट्रपतिका सचिव चिरञ्जीवि अधिकारीले तराईको मौसम खराब रहेकाले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको वीरगञ्जमा कुनै कार्यक्रम नरहेको प्रष्ट गरेका छन् । ‘तराईमा बाक्लो कुहिरो लाग्ने र चिसो पनि अत्यधिक बढेको छ’ उनले भने, त्यसकारण हाललाई तराईमा कुनै कार्यक्रम राखिएको छैन् । तर मेयर सिंहले माघ २८ गते राष्ट्रपतिबाट महायज्ञको समुद्घाटन गरिने समाजिक सञ्जालको आफ्नो आधिकारिक पेजबाट जानकारी दिएका छन् ।

चिनी मिलका कर्मचारी अवधकिशोर सिंहले उद्योग परिसरमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दसैंको विदा भएको बेला शिवलिंग राखेर पशुपतिनाथको मन्दिर निर्माण गर्न लागेको आरोप लगाएका छन् । तर संघीय सरकारको अर्थ मन्त्रालयले स्वीकृति बिना कुनै प्रकारको निर्माण कार्य चिनी मिल परिसरमा नगर्न पत्राचार गरिसकेको सिंहले बताए । तर परिसरमा महायज्ञका लागि विभिन्न कुण्ड लगायतका मण्डपहरु निर्माण भइरहेको र सीताराम नामजाप पनि सुरु गरिएको सिंहले बताए ।

देशको प्रधानमन्त्री डा.बाबुराम भट्टराई रहेको बेला उनीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा क्यान्सर अस्पतालको शिलान्यास गराउन पगलाबाबाले प्रयास गरेका थिए । एकजना जग्गा कारोबारीले प्लटिंग गरेको जग्गाको मूल्य बढाउन क्यान्सर अस्पतालको शिलान्यास मात्र गराउन खोजेको खुलेपछि कार्यक्रम रद्द भएको थियो ।

नागरिकता सम्बन्धी विवादमा मुछिएका मेयर सिंहले राष्ट्रपतिको नाम जोडेर भ्रामक प्रचार गरी कारबाहीलाई प्रभावित गर्न खोजेको आरोप नेताहरुले लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News